काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत भ्रमणमा गएका हुन् । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्यसहित उद्योग वणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायत छन् । असंलग्न राष्ट्रका मन्त्रीहरुको बैठकको सिलसिलामा अजरबैजान पुगेका मन्त्री ज्ञवाली अजरबैजानबाट नयाँदिल्ली आएर भ्रमण दलमा सामेल हुनेछन् ।


ADVERTISEMENT

# # #


यसैगरी विभिन्न दलका सांसदहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मी र कलाकारहरूको जम्बो टोलीसहित प्रधानमन्त्रीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे ।

प्रधानमन्त्री ओलीले भारतमा राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति बेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । ओलीको यस पटकको भारत भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारी अधिकारीहरुले बताएका छन् । उनी २५ चैत्रमा स्वदेश फर्कनेछन् ।