जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा सुरु भएको छ ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित चिकित्सकको टोलीले जुम्लाका मुटुरोगीको लागि निःशुल्क शिविर सञ्चालन गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि मुटुरोगीहरुले उपचारका लागि महँगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ टोली ल्याएर सेवाप्रवाह भएपछि केही समस्या कम हुने अनुमान गरिएको छ ।

मुटु रोग विशेषज्ञ सेवा दुई दिनसम्म सञ्चालन हुने भएको छ । जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा। कोइरालाको टिमलाई अनुरोध गरिएको थियो । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुँदा उपचार हुन सकेको थिएन । मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिईने शिक्षण अस्पतालले जनाएको छ ।

‘जुम्लामा मुटुरोगी र औषधि सेवन गर्नेको संख्या धेरै छ,’ शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, ‘निस्शुल्क मुटुरोग स्वास्थ्य शिविरमार्फत बिरामीलाई उपचार गर्न थालिएको हो ।’

जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर जाच गर्न पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका मुटुरोगीले नाम दर्ता गराएका छन् । चन्दननाथ नगरपालिका–६ की बविता शाहीले आँगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउँदा खुसी भएको बताइन् । मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सबै उपकरणसहित टोली जुम्लामा पुगेको छ ।

विशेषज्ञ चिकित्सकसँग मुटुको उपचार गराउन बिरामीलाई टोकन वितरण गरिएको छ । टोकन लिएर उपचार गराउने वातावरण सिर्जना गरिएको हो । पहिलो दिनमा ८ सयभन्दा बढी बिरामीको उपचार गरिएको छ । बिहान ६ देखि साँझ ७ बजेसम्म पनि शिविर सञ्चालन भएको आयोजकले बताएको छ ।