काठमाडौं–विकासमा फड्को मार्ने र ठूला आयोजना कार्यान्वयनका लागि शक्तिशाली विकास आयोजना प्राधिकरण गठन प्रस्तावसहित वाम गठबन्धन सरकारले नीति तथा कार्यक्रमसहित अनुमानित बजेट निर्धारण गरेको छ ।


ADVERTISEMENT


गठबन्धन सरकारको नीति तथा कार्यक्रम बनाउन गठित एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले चुनावी घोषणापत्र र जनताका आकांक्षा तथा आवश्यकताअनुरूप विकास र समृद्धिका लागि प्राथमिकता निर्धारण गरी कार्ययोजना बनाएको हो ।


ADVERTISEMENT

# # #


७ माघमा पार्टी एकता संयोजन समितिले एमाले नेता गौतमको नेतृत्वमा त्यस्तो कार्यदल बनाएको थियो । उक्त कार्यदलले वामपन्थी सरकारले गर्ने काम, अगाडि बढाउने योजना र त्यसको लागतसहितको कार्ययोजना निर्माण गरी पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन संयोजन समितिले पारित गरी नसके पनि प्रतिवेदनमा उल्लिखित कामलाई सरकारमा सहभागी मन्त्रीदेखि सरकारले अगाडि बढाउन भने थालिसकेको छ । कार्यदलमा रहेका ७ नेतामध्ये तीन जना अहिलेको सरकारमा आफैं मन्त्री छन् । युवराज खतिवडा अर्थ, वर्षमान पुन ऊर्जा जलस्रोत तथा सिँचाइ र गिरिराजमणि पोखरेल शिक्षा तथा प्रविधिमन्त्री छन् ।

कार्यदलले विज्ञ समूहसँग छलफल गरी उनीहरूको राय सल्लाह लिएर प्रतिवेदन तयार पारेको हो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अबको सरकारको नीति तथा कार्यक्रम कार्यदलको यही प्रतिवेदनलाई टेकेर आउने नेताहरूले बताएका छन् ।

कार्यदलको प्रतिवेदन कार्यान्वयन भए ५ वर्षभित्र लाखौं संख्यामा रोजगारी सिर्जना हुने, निरपेक्ष गरिबी निवारण हुने, अधिकांश घरपरिवारका लागि गाँस, बास, शिक्षा स्वास्थ्य, स्वच्छ पिउने पानीको व्यवस्था हुने र मुलुकले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुग्ने दाबी गरिएको छ । – आजको अन्नपूर्णबाट