काठमाडौं–अघिल्लो वर्ष नेपाल प्रहरीको प्रमुख नियुक्तिले ठूलै बबण्डर भयो । प्रहरी संगठनको इतिहासमै सबैभन्दा बढी विवादित मात्र भएन, आईजीपी काण्डले नेपाली कांग्रेसको छविसमेत धमिल्यायो । यो पटक सर्वेन्द्र खनाल प्रहरी प्रमुख भए । अघिल्लो पटक जस्तो मुद्दा मामिला र ठूलो विवाद त भएन तर, आईजीपीको दावेदार मध्येका एक डीआईजी रमेश खरेलले भने राजीनामा दिने भएका छन् । स्रोतसँगको कुराकानी गर्दै रमेश खरेलले भने–म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’


ADVERTISEMENT


मुद्दा मामिला नगर्ने
आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो उनले गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर, अब ह्युमलेट भएर काम गर्न सकिँदैन,’ उनले भने । उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । आफ्नो मिसन र भिजनअनुसार काम गर्न नपाउने भएपछि जागिरमात्र खाएर बस्नु उपयुक्त नलागेको उनले बताए । राजीनामा पत्र तयार भइसकेको भन्दै उनले हेडक्वार्टरमा बुझाएर नेपाल प्रहरीबाट अलग हुने बताए ।


ADVERTISEMENT

# # #


सर्वेन्द्र खनालभन्दा खरेल ११ महिनाअघि भलिबल खेलाडीका रुपमा प्रहरी जवानमा भर्ना भएका थिए तर, प्रहरी निरीक्षकमा भने खनालकै ब्याचमा भर्ना भएका हुन् । त्यसयता एसएसपीसम्म खरेल एक नम्बरमा थिए । डीआईजी बढुवामा भने खनाल एक नम्बर र खरेल दुई नम्बरमा परे ।

डीआईजी खरेलले नेपाल प्रहरीको आइजीपीमा व्यक्तिको योग्यता, क्षमता र आवश्यकता भन्दा पनि भागबण्डा हेरिएको आरोप लगाएका छन् ।

सर्वेन्द्रको आग्रह– सँगै काम गरौं
यसैबीच प्रहरी महानिरीक्षक नियुक्त भएका सर्वेन्द्र खनालले भने खरेललाई सँगै मिलेर काम गर्न आग्रह गरेका छन् । खरेलले राजीनामा दिन लागेको खबर सार्वजनिक भएपछि खनालले यस्तो आग्रह गरेका हुन् ।

सरकारले सबै प्रक्रिया पूरा गरेर आईजीपी नियुक्तिको निर्णय गरेको होला भन्दै नवनियुक्त आईजीपी खनालले स्रोतसँग भने, ‘हामी प्रतिस्पर्धी थियौं तर, मिसन एउटै थियो । नेपाल प्रहरीलाई सशक्त बनाउन र देशको हितमा काम गर्न सँगै काम गरौं भनेर आग्रह गर्छु ।’

उनले अघि भने, ‘राजीनामा दिने नदिने व्यक्तिको कुरा हो तर, म सँगै काम गरौं भन्न चाहन्छु ।’

सरकारको निर्णय शीरोधार्यः पुष्कर कार्की
आईजीपीकै प्रतिस्पर्धामा रहेका अर्का डीआईजी पुष्कर कार्कीले भने सरकारले गरेको निर्णय आफूलाई शीरोधार्य रहेको प्रतिक्रिया दिएका छन् । आफू आईजीपीको दाबेदार रहेपनि सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया उनले दिएका छन् ।

कार्कीले स्रोतसँग भने, ‘यतिका वर्ष व्यवसायिक निष्ठा राखेर काम गरियो । अझै धेरै काम गर्न बाँकी छ । सरकारको निर्णय कुन बेला के आउँछ त्यो अलग कुरा हो । तर जोसँग जे खुबी छ त्यहिअनुसार काम गर्नुपर्छ ।’

उनले अघि भने, ‘म प्रहरी सेवामा बसेर आईजीपीलाई सघाउँदै आफ्नो जिम्मेवारी पूरा गर्छु ।’

अनलाइनखबरबाट