काठमाडौँ – काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क लगाएतका बिभिन्न स्थानमा ट्राफिक कार्यालयले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । चाडपर्वलक्षित नागरिक सहायता कक्षको बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


कार्कीले चाडपर्वका अवसरमा यात्रा गर्ने यात्रुहरुलाई नागरिक सहायता कक्षबाट आवश्यक सेवा दिइने बताए । उनले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै नागरिकमैत्री भएर काम गर्ने उल्लेख गरे । नागरिक र युवाहरुले उठाएका जायज विषयहरुलाई आत्मसाथ गर्दै जनताको सेवामा क्रियाशिल हुने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अघि बढ्ने बताए । उनले सबै क्षेत्र एकजुट भएर मुलुकलाई अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । चाडपर्वका समयमा यात्रुहरुलाई गन्तव्यमा पुराउनका लागि यातायात व्यवसायी नागरिकमुखी भएर लाग्ने उनले बताए ।

नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । तोकिएको भाडादर भन्दा बढी लिए÷नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरुमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम नागरिक सहायता कक्षबाट हुने ट्राफिक कार्यालयले जनाएको छ ।