काठमाडौं–यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडा भएकी छिन् । बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।


ADVERTISEMENT


मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो ।


ADVERTISEMENT

# # #


तर बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् ।

खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेका छन् ।

२२ बर्षीया शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी छिन् । इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।

शृंखला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।