काठमाडौं–अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिका दोस्रो पटक हमला गर्नका लागि तयार भएको बताएकी छिन् । संयुक्त राष्ट्रमा निक्कीले यस्तो बयान दिएकी हुन् ।


ADVERTISEMENT


उनले भनिन्, ‘शनिबारको सैन्य कारवाहीले हाम्रो सन्देश स्पष्ट बयान गर्छ । अमेरिकाले अब असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दिने छैन । हामीले त्यो अनुसन्धान केन्द्रलाई नष्ट गरेका छौं जसको प्रयोग ठूलो मात्रामा हत्याका लागि प्रयोग गर्ने हतियार बटुल्न प्रयोग गरिन्थ्यो । राष्ट्रपति ट्रम्पले सिरियाली शासनले यदि पुनः विषालु ग्याँसको प्रयोग गरे भने अमेरिका यसको जवाफ दिन पूर्ण रुपमा तयार छ भनी जानकारी दिएका छन् ।’


ADVERTISEMENT

# # #


यता सिरिया विरुद्ध अमेरिका बेलायत र फ्रान्सको मिसाइल हमलाको भत्र्सना गर्नका लागि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा समर्थन जुटाउन सकेन ।

सिरियाको डूमामा गत हप्ता रासायनिक हमलाको जवाफमा पश्चिमी शक्तिको मिसाइल हमलालाई रुसी राजदुत वसिली नेबेन्जियाले ‘गुन्डागर्दी’ को संज्ञा दिएका छन् । सिरियामा मिसाइल हमला गरेर अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन गरेका रुसी राष्ट्रपतिको ठहर छ ।

रासायनिक हमलाको अन्तर्राष्ट्रिय अनुसन्धान सुरु हुनुपूर्व मिसाइल हमलाका लागि पश्चिमी शक्तिमाथि कटाक्ष गर्दै उनले भने, ‘यो सबै एक सुनियोजित रुपमा गरिएको हो । यो विषयमा उक्साइएको छ, झुटा आरोप लगाइएको छ, निर्णय सुनाएर सजायँ दिइएको छ । अन्तर्राष्ट्रिय मुद्दालाई यसरी सल्टाइएको के तपाईं सहन सक्नुहुन्छ ? यो अन्तर्राष्ट्रिय मामलामा गुन्डागर्दी हो ।’

‘झुटा र आडम्बरी छन् अमेरिका, बेलायत र फ्रान्स’

सुरक्षा परिषदको आपतकालीन बैठकमा सिरियाका राजदूत बशर जाफरीले अमेरिका, बेलायत र फ्रान्सलाई भुटा र आडम्बरी बताउँदै तिखो प्रश्न तेर्साएका छन् ।

उनले सोधे, ‘के मेरो देशमा हमला गर्नका लागि तपाईंको सरकारले यो संगठनसँग, अन्तर्राष्ट्रिय समूदायसँग जनादेश हाँसिल गरेको थियो ? अमेरिका, बेलायत र फ्रान्सका मेरा साथीमार्फत मलाई यो थाहा भयो कि उनीहरुले सिरियामा रासायनिक हतियार बनाइने स्थानमा बम खसालेका हुन् । यदि यी तीनै देशका सरकारलाई सही स्थानको भूमिका बारे यति धेरै जानकारी भएको भए उनीहरुले यो जानकारी ओपीसीडब्ल्यू (अर्गनाइजेशन फर प्रोहिबिशन अफ केमिकल वेपन्स) लाई यसबारे किन जानकारी दिएनन् ? उनीहरुले यो हमलापूर्व यो जानकारी दमास्कसको फ्याक्ट–फाइन्डिङ मिशनसँग किन सार्वजनिक गरेनन् ?’

प्रमाण जुटाउन मुश्किलः

यसबारे बीबीसीले सोध्दा पेरुको राजधानी लिमामा रहेका अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले यो हमलाका लागि आफ्नो ‘इन्टेलिजेन्स’ को प्रयोग गरेको बताए ।

उनले भने, ‘जब तपाईं सिरियाजस्तो बर्बर र अत्याचारी शासनसँग लडिरहनु भएको छ भने प्रमाण जुटाउन मुश्किल हुन्छ । तर हामीले लामो संघर्षपश्चात् यो पत्ता लगाएका छौं कि सिरियाली सरकाले नै उक्त हमला गरेको थियो । अनुसन्धान जारी नै भएको कुरा पनि तपाईं जानकारी दिन चाहन्छौं ।’

यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेशले यो पूरा घटनाक्रमलाई ‘खतरनाक स्थिती’ बताउँदै संयमता अपनाउन अपिल गरेका छन् ।