लण्डन–म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा वेस्ट ब्रोमसँग १–० ले स्तब्ध भएपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । खेलको ७३ औँ मिनेटमा जे रोड्रिग्वेजको एक मात्र गोलको मद्दतले वेस्ट ब्रोमले युनाइटेडलाई पराजित गरेको हो ।


ADVERTISEMENT


यसअघि, वेस्ट ब्रोमका गोलकिपर बेन फोस्टरले रोमेलु लुकाकुका दुई प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए । ५ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको युनाइटेड पेप ग्वार्डिओलाको टोलीभन्दा १६ अंकले पछि रहेको छ ।


ADVERTISEMENT

# # #


पछिल्ला सात सिजनमा सिटीको यो तेस्रो लिग उपाधि हो भने ग्वार्डिओलाको नेतृत्वमा पहिलो । सिटीले यस सिजन उपाधि होड एक्लौटी बनाएको थियो । यसक्रममा उसले ९३ गोल गर्न सफल रह्यो भने मात्र दुई खेलमा पराजित भयो ।

प्रिमियर लिग उपाधि बार्सिलोना तथा बायर्न म्युनिखका प्रशिक्षकको करियरको २४ औँ उपाधि हो । ४७ वर्षीय ग्वार्डिओलाले यसअघि स्पेन र जमर्नीमा उपाधि जितेका थिए जसमध्ये बार्सिलोनासँग उनले दुईवटा च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

सन् २००८ मा सिटीलाई शेख मनसुर बिन जायेद अल नहयानले किनेपछि सिटीले सातवटा उपाधि जित्न सफल भएको छ जसमा प्रिमियर लिग उपाधिसँगै एफए कप, दुई लिग कप, कम्युनिटी सिल्ड रहेको छ ।

उपाधि जित्ने क्रममा सिटीले लगातार १८ खेलमा जीत हासिल गर्यो भने प्रिमियर लिगका हरेक टोलीलाई कम्तिमा एक पटक पराजित गर्यो । यस सिजन अपराजित रहने होडमा रहेको सिटी गत जनवरीमा लिभरपुलसँग पहिलोपटक ४–३ गोल अन्तरले पराजित बनेको थियो ।

आइतबार नै भएको अन्य खेलमा आर्सनल न्युक्यासलसँग २–१ गोलअन्तरले पराजित भयो । अलेक्सान्डर लाकाजेटले आर्सनललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाए पनि आयोजे पेरेज र म्याट रिचीले गोल गर्दै न्युकासललाई जीत दिलाए ।

आर्सनलले सन् २०१८ मा घरेलु मैदानबाहिर खेलिएका कुनै पनि खेलका जीत हासिल गर्न सकेको छैन । यता, जीतपछि न्युक्यासलले ४० अंक कटाउँदै प्रिमियर लिगमा अर्को सिजनका लागि आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।