काठमाडौं–अपराधिक घटना नियन्त्रणमा ‘ब्रेक थ्रु’ गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुण्डा नाइके मनोज पुनका मुख्य सहयोगीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुल्सीराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् । प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले मनोज पुनका लागि सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको उनले बताए । पक्राउ परेका मध्ये उत्तम आचार्य एमाले कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता हुन् ।

दुवैको पार्टी केन्द्रीय नेताहरुसँग सिधा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए ।

पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।