काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।


ADVERTISEMENT


‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’


ADVERTISEMENT

# # #


उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।