प्युठान–कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका–५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन् । दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुग्ने गरेका छन् ।


ADVERTISEMENT


गाउँलेमा मिल सञ्चालन गर्ने चाहना भए पनि विद्युत् क्षमता नहुँदा समस्या भएको स्थानीयको गुनासो छ । ‘दुई घण्टा जंगलको बाटो हिँडेर मिलमा पुग्छौँ’, सिरुबारीकी स्थानीय शिवा खत्रीले भनिन्, ‘गाउँमा मिल छैन । पुस्तौंदेखि यही समस्या छ।’


ADVERTISEMENT

# # #


मकै, गहुँ, धान पिसाउन मिलमा पुग्नुपर्ने बाध्यता रहेको शिवाको भनाइ छ । ‘घरमा जाँतोमा पिस्ने चलन हराइसक्यो’, सोही ठाउँकी ५० वर्षीया सरस्वती खत्रीले भनिन्, ‘जाँतोमा दुई÷चार माना पिसाउन त सकिन्छ । तर, धेरै पिसाउन मिलमै पुग्नुपर्छ ।’ गाउँमा मिल राख्नका लागि विद्युत् जडान गरिदिन वर्षौंदेखि आग्रह गरे पनि माग सुनुवाइ नभएको उनको गुनासो छ ।

‘एकपटक सात/आठ पाथी अन्न लिएर पिसाउँछौँ’, खत्रीले भनिन्, ‘जंगलको बाटो राति हिँड्न डर हुन्छ ।’ गाउँका झण्डै ७० घरधुरीले मिल नहुँदाको यस्तो समस्या भोग्दै आइरहेका छन् । ‘कतिपयले मिल राख्न चाहना गरेका छन्’, खत्रीले भनिन्, ‘तर बिजुली नभएर मिल राख्न सकेका छैनन् ।’

पैसा भएका ८/१० जनाले गाउँमा मिल सञ्चालन गर्ने योजना सुनाएको वडाध्यक्ष हेमराज वलीले बताए । ‘सुरुमा मैले पनि मिल राख्न मन गरेको थिएँ’, उनले भने, ‘तर बिजुलीको क्षमता नभएर काम अघि बढेन ।’ गाउँमा ‘टुफेज’को मात्र लाइन विस्तार भएको उनले जानकारी गराए । वलीका अनुसार मिल सञ्चालन गर्न ‘फोरफेज’ क्षमताको विद्युत् लाइन आवश्यक पर्छ । – आजको अन्नपूर्ण पोस्टबाट