काठमाडौं–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नेपाल(चीनबीच क्रस बोर्डर रेलवे निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । सिचुवान विश्वविद्यालयले आयोजना गरेको ‘हिमालय क्षेत्रमा नेपाल–चीन सम्बन्ध र विकास’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच रेलवेका साथै ‘कनेक्टिभिटी’ सम्बन्धी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको र यसले समग्र हिमालय क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT


उनले भने, ‘भौगोलिक निकटता र हिमालय क्षेत्रमा प्रस्तावित पूर्वाधार निर्माणका परियोजनाले दुई देशको आर्थिक गतिविधिलाई बढावा दिन्छ ।’सीमापार पूर्वाधार निर्माण नेपालजस्ता भूपरिवेष्ठित देशका लागि महत्वपूर्ण हुने भन्दै मन्त्री ज्ञवालीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको प्रशंसा गरे।


ADVERTISEMENT

# # #


उनले भने, ‘बीआरआई परियोजनाले हाम्रो विकासको प्रयासमा योगदान दिनेछ ।’ हिमालय क्षेत्रमा पूर्वाधार विकासबारे जोड दिँदै मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा समेत हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जालबारे सहमति भएको मन्त्री ज्ञवालीले उल्लेख गरे ।

‘चीन र नेपाल दीर्घकालीन रूपमा हिमालयन बहुआयामिक यातायात सञ्जालको विकास गर्न एकमत भएका छौं’, चिनियाँ समकक्षीसँगको भेटबारे जानकारी गराउँदै उनले भने, ‘आज त्यसबारे तपाईंहरूलाई जानकारी गराउन पाउँदा एकदम खुसी छु ।’

उनले उत्पादनमा आधारित उच्चस्तरीय प्रविधिका साथै ठूलो आन्तरिक बजार भएको चीन र प्राकृतिक स्रोतमा धनी नेपालको सहकार्यले दुवै देशको आर्थिक विकासमा मद्दत पुत्याउने दाबी गरे । उनले कृषि, पर्यटन, ऊर्जा र लगानीका लागि नेपालमा सम्भावना रहेको दोहोत्याए । उनले भने, ‘नेपाल सरकार चिनियाँ लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ, त्यसैले लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्छु । दुवै पक्षको हित हुने गरी लगानी ल्याउनुहोस् ।’

नेपालमा बेरोजगारीको ठूलो समस्या भएको भन्दै उनले यसलाई रोक्न ठूला उद्योग खोल्नुपर्ने खाँचो औंल्याए । उनले भने, ‘दैनिक ठूलो संख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । यसलाई रोक्न देशभित्र उत्पादनमूलक क्षेत्रमा ठूला उद्योग खोल्न आवश्यक छ ।’

२१ औं शताब्दीको कूटनीति ‘जनताबीचको सम्बन्ध’ र संस्कृति आदानप्रदान’ मा केन्द्रित हुने उल्लेख गर्दै मन्त्री ज्ञवालीले त्यसले दुई देशबीचको सम्बन्धलाई दिगो र बलियो बनाउने बताए । उनले पछिल्लो समय चिनियाँ पर्यटकको संख्या नेपालमा बढ्दै गएको र नेपाली पनि चीन आउने क्रम बढ्दै जानुले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

पाँच दिन लामो चीन भ्रमणमा गएका मन्त्री ज्ञवालीसहितको नेपाली प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । मन्त्री ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षीका साथै चीनका उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए ।

मन्त्री ज्ञवालीको भ्रमणलाई दुई देशबीचको आगामी उच्चस्तरीय भ्रमण आदानप्रदानको तयारीका रूपमा हेरिएको थियो । उनले चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबारे चिनियाँ समकक्षीसँग कुराकानी भएको बताएका थिए ।