काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका केही नेताले मुलुकमा तानाशाहीतन्त्र आउन नसक्ने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँ महानगरपालिका–३२ मा बनेको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले अधिनायकवाद होइन रेलचाहिँ आउने बताए ।


ADVERTISEMENT

# # #


“काठमाडौँ–वीरगञ्ज–रक्सौल रेल चल्ने कुरा के चलेको थियो, केहीकेही आत्तिए,” उनले भने, “म साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु । अधिनायकवाद होइन काठमाडौँमा मेट्रो रेल दुईवर्षभित्रै गुड्छ ।”

त्यस्तै उनले निजगढ–काठमाडौँ द्रूत मार्ग, निजगढ विमानस्थल, भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि छिट्टै बन्ने आश्वस्त पार्दै विकासको तानाशाही आउने जिकिर गरे ।

‘वागमतीको पानी पिउनयोग्य बनाउँछु’

प्रत्येक हप्ता शृंखलावद्ध वागमती सफाइ अभियान चलेता पनि वागमती कहिल्यै सफा नभएको बताउँदै सरकारले नै त्यसको अगुवाइ गर्ने बताए । “वागमतीको पानी आचमनी योग्य बनाउँछु,” उनले भने । अहिलेका युवासँग शिक्षा भए पनि सीप नभएको बताउँदै २५ वर्षभित्र रोजिरोटीका लागि कुनै पनि युवा बाहिर जानुनपर्ने बताए ।

त्यस्तै उनले सिरहाजस्तो सुगम ठाउँमा ६१ प्रतिशत निरक्षर रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई अझै प्रभावकारी बनाउने जिकिर गरे । त्यस्तै यसवर्षको अभियानले समतामूलक शिक्षामा जोड दिएको बताए ।

“सर्लाहीका मल्लिकको परिवारको बच्चाको अभिभावकत्व ग्रहण गरेँ । ती बच्चालाई उठाएर काखमा के लिएको थिएँ, डोमको बच्चा लियो भनेर मञ्च तल बसेका सबै अचम्मित भए, हाम्रो समाज यहाँ छ,” उनले भने । उनले १४ गतेपछि पनि छुटेका विद्यार्थी विद्यालय पठाउन अभियान जारी राख्ने बताउँदै कोही पनि बच्चा विद्यालय बाहिर रहन नदिने प्रतिवद्धता दोहोर्याए ।

कार्यक्रममा उनले मदन भण्डारी साझा चिन्तक र नेता भएकाले उनको नाममा विवाद गर्न नहुने जिकिर गरे । उमेरमा आफूभन्दा कान्छो भए पनि ४० कै उमेरमा देश दुनियाँ हल्लाएको भन्दै गुणको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंका खाल्डा नपुरिएको भन्दै सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। १५ वैशाखसम्म खाल्डा पुरिसक्ने प्रतिवद्धता व्यक्त गरेको भए पनि नपुरिएको भन्दै उनले यसले आफ्नो टाउको दुखेको बताए ।

काठमाडौं महानगरपालिका– ३२ मा निर्माण भएको मदन भण्डारी स्मृति वाटिका उद्घाटनमा उनले भने, “टाउको दुखाउन अन्त जानुपर्दैन, काठमाडौंका खाल्डा हेरे पुग्छ।” उनले सचिवले टेरेनन् कि, मन्त्रीले गरेनन् जवाफ दिनुपर्ने बताए ।