बागलुङ– धौलागिरी अञ्चल अस्पताल बागलुङमा डायलाइसिस सेवा सुरु भएको छ ।


ADVERTISEMENT


यो सेवा धौलागिरीमै पहिलो पटक बागलुङमा सुरु भएको हो । मृगौलाका विरामीलाई निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले गत वैशाखमा अञ्चल अस्पतालमा दुई उपकरण पठाएको थियो ।


ADVERTISEMENT

# # #


उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा १ वर्षसम्म मेसिन थन्किएका थिए । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा सबै अञ्चल अस्पतालमा डायलासिस सेवा सुचारु गर्ने उद्देश्यले उपकरण पठाईए पनि दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पतालले सेवा दिन सकेको थिएन ।

सोमबार अस्पतालले सफल परिक्षणपश्चात औपचारिक रुपमा सेवा संचालन गरेको जानकारी प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।सागर कुमार राजभण्डारीले दिए । उनका अनुसार अस्पतालमा रहेको दुईवटै मेसिनबाट सेवा सुचारु गरिएको छ । सेवा संचालनका लागि दुई जना डाक्टर, दुई स्टाफ नर्स, एक प्राविधिक र एक कार्यालय सहयोगी गरी ६ जनाको टोली खटिने छ ।

बागलुङमा करिब ३० भन्दा बढि मिर्गौलाका विरामी रहेको डा।राजभण्डारीले बताए । ‘उनीहरुलाई अस्पतालबाट सहज र नियमित सेवा दिनेछौं उनले भने, ‘दुईवटा मेसिनबाट दैनिक ४ जनाको सम्म उपचार गर्न सकिन्छ ।’

सेवा सञ्चावनमा आएपछि धेरै रकम खर्च गरेर जिल्लाबाहिर धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

‘उपकरण भएपनि प्राविधिक जनशक्ति अभाबले सेवा दिन सकिरहेका थिएनौ, अब हामी नियमित सेवा संचालन गर्ने छौं’ अस्पताल विकास समितिका अध्यक्ष रामजी प्रसाद सुवेदीले बताए । जिल्लाकै अस्पतालमा सेवा सुरु हुँदा काठमाडौं, पोखरा लगेर उपचार गराउने समस्याबाट मुक्त भएको जैनिमी १ का देव शर्मा आचार्यले बताए ।

अस्पतालमा १६ जना विषेशज्ञ र ६ जना मेडिकल अधिकृत गरी २२ जना चिकित्सकको दरबन्दी छ । दरवन्दी भए पनि चिकित्सक नआउँदा अस्पतालका अन्य सेवा प्रभावित भएका छन् । अहिले ६ जना मेडिकल अधिकृतको पदपुर्ति भएको अस्पतालको शाखा अधिकृत यज्ञप्रसाद रिजालले बताए । दैनिक साढे तीन सय बिरामी आउने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा उपकरण, चिकित्सकको मात्र नभएर भौतिक पूर्वाधारको पनि अभाब छ ।

भवन निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्दा अस्पतालमा उपचार सेवा दिने भवनको अभाव भएको छ ।