म्याग्दी– स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।


ADVERTISEMENT


स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


म्याग्दीवासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जलविद्युत् आयोजना अगाडी बढाइएको कुँवरको भनाइ छ । कोरियामा रहेका म्याग्दीका बासिन्दाले लगानीको प्रतिबद्धता जनाएका छन् भने अन्य मुलुकमा रहेका यहाँका बासिन्दा समेत सो आयोजनामा लागानी गर्न इच्छुक देखिएका कुँवरले बताए ।

मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको माटोको जाँच प्रक्रिया समेत अगाडी बढाइएको छ । आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता जनाएका छन् ।

‘रन अफ द रिभर’ प्रकृतिको दरबाङ–म्याग्दीखोला आयोजना दरबाङदेखि दुई किलोमिटर माथि देवीस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाँधेर पाँच किलोमिटर टनेलहुँदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा १०० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

सो आयोजनाको प्रारम्भिक कुल लागत रु तीन अर्ब ९३ करोड रहेको छ । सेयरबाट सङ्कलन भएको रकमबाहेक बैंकबाट कर्जा लिएर आयोजना निर्माण गरिने बताइएको छ ।