काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवा प्रवाहबारे असन्तुष्टि राखेका छन् । सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले गुणस्तरमा ध्यान दिन सजग गराए ।


ADVERTISEMENT


प्रधानमन्त्रीले टेलिकम भित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद भएको बताए । ‘टेलिकम भित्र यस्ता प्रवृतिहरु हाबी भएको देखिन्छ,’ प्रधानमन्त्रीले टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई भने, ‘यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्छ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाउँदै रोक्न निर्देशन दिएका छन् । ‘त्यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासहितको उपस्थितिमा टेलिकम अधिकारीहरुसँग गम्भीर छलफल गरेका थिए ।

प्रधानमन्त्रीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचारी खटाउन निर्देशन दिएको निजी सचिवालयले जनाएको छ । ती शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रको निर्देशन थियो ।

प्रधानमन्त्रीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए । ‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्,’ उनले भने, ‘त्यस्तो हुनु भएन ।’
प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताएका थिए ।

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका थिए ।