काठमाडौं–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा भएको हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर गरेका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा देउवा पक्षधर नेताहरूले गलत संस्कार देखाएको भन्दै पौडेलको आलोचना गरेपछि पौडेलले आफ्नो बचाउ गर्दै देउवालाई हारको जिम्मेवारी लिन दबाब दिएका हुन् । ‘कांग्रेस हारेकै हो, नेतृत्वले जिम्मा लिनुपर्छ’, पौडेलले शुक्रबार बैठकमा भनेका थिए, ‘मेरो भागमा परेको जिम्मा म लिन्छु ।’


ADVERTISEMENT


देउवा पक्षधर नेताहरूले हारको जिम्मा वरिष्ठ नेता पौडेलले पनि लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । तर, पौडेलले मूल नेतृत्व देउवाको भएकाले नैतिक रूपमा देउवाले नै जिम्मा लिनुपर्ने तर्क गरेका थिए । ‘कम्युनिस्ट गठबन्धनका कारण मात्र हामीले चुनाव हारेका होइनौं’, पौडेलले भने, ‘हाम्रो कार्यशैलीका कारण हार बेहोरेका हौं ।’


ADVERTISEMENT

# # #


संविधानसभाबाट संविधान बनाउने बेला कांग्रेस रक्षात्मक हुनुले पनि चुनावमा कांग्रेस समर्थकहरू खुल्न नसकेको पौडेलको तर्क थियो । प्रधानमन्त्री बन्दैमा मात्र जनताले कसैलाई पनि स्वीकार नगर्ने तर्क पौडेलको थियो ।

‘गणेशमानजी एक पटक पनि प्रधानमन्त्री बन्नु भएन, तर तपाईं (शेरबहादुर) कति पटक प्रधानमन्त्री बनुभयो’, पौडेलले भनेका थिए, ‘आज जनताले तपाईंलाई पुज्छन् कि गणेशमानजीलाई ? ’ सत्तामा रहँदा पार्टी नेतृत्वले लोकप्रिय काम गर्न नसकेको र विधानअनुरूप सरकार सञ्चालन हुन नसकेको पौडेलको आरोप थियो ।

विगतमा पार्टी सभापति देउवाले नै एक व्यक्ति एक पदको कुरा गरे पनि आफू नेतृत्वमा आएपछि त्यसलाई ठाडै कुल्चेको पौडेलको आरोप थियो । त्यस्तै बैठकमा पार्टी एकीकरणको बेला आफूसँग भएको सहमतिलाई लागु गर्न नेता विजय गच्छदारले माग गरेका थिए । – आजको अन्नपूर्ण पोस्टबाट