काठमाडौँ– सरकारले बढीमा २५ प्रतिशतमात्र केन्द्रमा निजामती कर्मचारी रहने गरी समायोजन गर्न थालेको छ । सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनामा बढीमा २५ प्रतिशत कर्मचारीमात्र रहने गरी समायोजन गर्न लागेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए ।


ADVERTISEMENT


“अहिलेको सङ्घीय स्वरुपअनुसार हामीले २०–२५ प्रतिशत कर्मचारी केन्द्रमा राख्ने गरी समायोजनको खाका बनाएका छौँ”, उनले भने– “अन्य कर्मचारी भने प्रदेश र स्थानीय तहमा रहनेछन् ।”


ADVERTISEMENT

# # #


मन्त्रालयले केन्द्रमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्यौदा तयार पारेपछि कर्मचारीको समायोजन गर्दा केन्द्रबाट बचेका करिब ८० प्रतिशत कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने योजना बनाएको छ ।

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित समितिले केन्द्रीयस्तरमा रहने मन्त्रालय तथा निकायको स्वरुप तयार पार्न गठित कार्यदलले १६ वटा मन्त्रालय रहने मस्यौदा मुख्य सचिव डा सोमलाल सुवेदीलाई बुझाइसकेको छ ।

मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७३ स्वीकृतका लागि मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको प्रवक्ता न्यौपानेले बताए ।

मन्त्रालयले विभिन्न मापदण्डका आधारमा कर्मचारीको समायोजन गर्ने तयारी गरेको छ । उनका अनुसार केन्द्रमा कार्यालय नभएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने, केन्द्र, प्रदेश र स्थानीय तहमा कहाँ जाने भनेर ज्येष्ठताका आधारमा रोजाउने, कर्मचारीको ठेगानाअनुसार पठाउनेजस्ता मापदण्ड तयार गरेको छ ।

हाल निजामती सेवामा करिब ८३ हजार कर्मचारी छन् ।