काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा स्पष्ट बहुमत हुँदैमा प्रभावकारी शासन सञ्चालन हुने सुनिश्चित नहुने बताए।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुमतलाई महत्वपूर्ण राजनीतिक पूँजीका रूपमा प्रयोग गर्दै सरकार जनताको विश्वास कायम राख्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

आङ्देम्बेका अनुसार सरकारसँग बहुमत भए पनि जनताको विश्वास कायम राख्न दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक हुन्छ। उनले सरकार राज्यका सबै तह, संसद्, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र तथा नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्ने धारणा राखे।

सरकारले आफूलाई सीमित राजनीतिक घेराभित्र राख्न खोजेको अनुभूति भएको उल्लेख गर्दै उनले ‘सरकारले राज्य चलाउने हो, आफ्नो पक्ष वा पक्षभित्रको कुनै सानो समूह मात्र चलाउने होइन’ भने।

संसद्लाई सरकारले प्रतिस्पर्धीका रूपमा नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्नेमा जोड दिँदै आङ्देम्बेले सरकारका निर्णय, नीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे संसद्लाई जानकारी गराउने र जवाफदेही हुने संसदीय परम्पराको पालना गर्न आग्रह गरे।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी भएर फर्किएपछि समेत संसद्लाई जानकारी नगराएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई जानकारी गराउनु संसदीय परम्परा मात्र नभई सरकारका अन्तर्राष्ट्रिय प्रतिबद्धतामाथि संसदीय वैधता र जवाफदेहितासँग समेत जोडिएको उनको भनाइ थियो।

आङ्देम्बेले विगतका परम्परा र संस्थागत अभ्यासलाई बेवास्ता गर्दै अघि बढ्दा त्यसको असर सरकारमै पर्न सक्ने भन्दै सरकारलाई संसद् र लोकतान्त्रिक संस्थासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे।