काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले साढे दुई वर्षअघि लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसक्दा निर्वाचनमा पार्टीको जनमत घटेको बताएका छन् ।


ADVERTISEMENT


भारतको नाकाबन्दीलाई ठूलो स्वरमा नाकाबन्दी नै हो भनेर विरोध गर्नबाट पार्टी चुक्दा तीन वटा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको सभापति देउवाको निष्कर्ष रहेको छ।


ADVERTISEMENT

# # #


चुनावी हारको समीक्षा बैठकको अन्त्यतिर आइतबार साँझ केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘भारतले लगाएको नाकाबन्दीलाई हामीले नाकाबन्दी नै हो भनेर ठूलो स्वरमा विरोध गर्न सकेनौं। त्यसको असर चुनावमा देखियो। जनमत घट्यो।’

सभापति देउवाले बैठकमा आधा घन्टा बोलेका थिए। नयाँ ढंगले पार्टीलाई अघि बढाउने भन्दै उनले निराश नहुन नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे।

नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा निर्वाचनमा अनपेक्षित हार भएकोसमेत उनले दाबी गरे।

देउवाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदमा मनोनितका लागि प्रस्ताव गर्ने तयारी गरे।

सोमबार बिहान बैठक राख्ने तयारी रहे पनि नेता रामचन्द्र पौडेल पक्षधरले फरक मत राखेकाले केही समय छलफल गरेर सहमतिकै आधारमा बैठक राख्ने तयारीमा कांग्रेस जुटेको स्रोतले जनाएको छ।

सभापति देउवाले आफू पक्षका नेतालाई पदाधिकारी मनोनित गर्ने तयारी गरेपछि पौडेल समूह रुष्ट बनेको छ।

१३ औं अधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पदाधिकारी मनोनित गर्न नसक्दा पार्टीभित्रबाटै आलोचना खेप्नुपरेको छ।