काठमाडौं–३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए । अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो । डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो । सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन् । पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन् ।

६ जना नै निलम्बित भइसकेका छन् । प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ । एसएसपी खत्री भने अझै फरार छन् । सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन् । नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत उनी दुई सातादेखि कार्यालयसमेत गएका छैनन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ। – आजको नेपाल समाचारपत्रबाट