धनगढी– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए ।


ADVERTISEMENT


देउवाले प्रदेश नं ७ विकासका धेरै सम्भावना रहेको क्षेत्र भएकाले विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविसको आर्थिक सहयोग र तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटसमेत गरी कूल रु दुई करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा निर्माण समितिका कृष्ण खड्काले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त तीन तले उक्त भवनमा २६ कोठा रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यस क्याम्पसमा एक हजार २०० विद्यार्थी रहेका छन् । वि.सं २०६३ मा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल करिब १ सय ५० गरिब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागिसमेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले बताए ।