नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभाका सांसद बहादुर लामासंग हिमालय पोष्टले पछिल्लो राजनीतिक परिदृष्यका बारेमा गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


नेपाली कांग्रेसको पछिल्लो अवस्था बताइदिनुस् न । राजनीतिक गतिविधि कसरी अगाडि बढेको छ ?


ADVERTISEMENT

# # #


देश संविधान कार्यान्वयनका लागि अगाडि बढेको छ । कांग्रेसभित्र अहिले केन्द्रिय कमिटीको लामो छलफल चलिरहेको छ । चुनावी समीक्षा र पार्टीको संरचनाका विषयमा र महाधिवेशनमा जाने विषयमा चर्चा भइरहेको छ । खासगरी देशमा अहिले वाम गठबन्धनको सरकार छ । प्रमुख प्रतिपक्षी भएको नाताले अब कसरी अगाडी बढ्ने भन्ने कुरा पनि भइरहेको छ । त्यस्तै पदाधिकारीको विषयमा पनि छलफल हुँदैछ ।

महासमितिको बैठक पनि बोलाउने निर्णय गर्नुभएको छ नि ?

हो, महासमितिको बैठक भदौमा बोलाइएको छ । देश संघियतामा गइसकेपछि त्यही अनुरुपको संरचना बनाउनका लागि कांग्रेसको विधान संशोधन गर्नुपर्छ । किनभने राज्य अनुसारको पार्टीको स्वरुपपनि परिवर्तन गर्नुपर्छ । विधान संशोधन कमिटी बन्दैछ । त्यसले प्रक्रिया अगाडी बढाउँछ । अब पार्टी नयाँ ढंगले अगाडि बढ्छ ।

भनेपछि कांग्रेसको संरचनालाई परिवर्तन गर्दै थप मजबुद बनाउन तपाईहरु अब महाधिवेशनर्फ अगाडी बढ्नुभएको हो ?

होइन । महाधिवेशन त दुई वर्ष बाँकी नै छ नि । जति पनि परिवर्तनको बाहक कांग्रेस नै हो । प्रजातान्त्रिक शक्तिहरु मिलेर जानुपर्छ भन्ने हाम्रो धारणा हो । पार्टीलाई बलियो बनाउनका लागि अब हामी लाग्नुपर्ने बेला आएको छ । अहिलेको परिस्थिति बेग्लै किसिमको छ । पुस्ता र परिस्थिति अनुसार परिवर्तन हुनुपर्छ भन्ने मान्यता हो । अब नयाँ ढंगले कसरी जाने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ । नयाँ विधानसंगै अनुशासन पनि आउँछ । पार्टी सभापतिलाई अरुले खुइल्याउने, पार्टी कमिटीको बैठकभन्दा बाहिर गएर जुनसुकै कुरा बोल्ने अधिकार अब हामी दिँदैनौँ । पार्टीको विधि विधानभित्र रहेर काम गर्नुपर्ने कुरा छ । त्यसले गर्दा अब पार्टीमा सुशासन कायम हुने कुरामा म विश्वस्त छु ।

प्रतिपक्षीको भूमिकामा कांग्रेसले सरकारका गतिविधिलाई कसरी हेरिरहेको छ ?

अब हामी जहिले पनि प्रजातन्त्रमा विश्वास गछौँ । राम्रो काम गर्नेलाई हाम्रो सँधै नै साथ रहन्छ । अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन । तर यो सरकारको चरित्र हेर्ने हो भने अहिले निरंकुशवादीको जस्तो शासन भइरहेको छ । दुई तिहाई बहुमत पुर्याएर संविधानलाई परिवर्तन गर्दै कम्युनिस्ट शासन ल्याउने जुन सपना छ । त्यो हामी पूरा हुन दिदैनौँ । कांग्रेस यसमा सचेत छ । पाँच वर्षका लागि उनीहरुले नेतृत्व पाएका छन् । हेर्दै जाऔँ कसरी सञ्चालन गर्छन् ? पाँच वर्षपछि हामी नै आउनसक्छौँँ ।

त्यसका लागि त अहिले देखि नै तयारी थाल्नुपर्ला । पाँच वर्षमा कांग्रेसतिर फर्किएला त जनमत ?

राजनीतिमा यकिनका साथ भन्न सकिँदैन । तर जनताले कसलाई कुनरुपमा लिन्छन् त्यसमा भर पर्छ । त्यो भविष्यले बताउने छ । तर एउटा कुरा के हो भने हामीले कांग्रेसको संगठनलाई मजबुत बनाउनै पर्छ । अर्थमन्त्रीले जुन किसिमको स्वेतपत्र ल्याए । त्यसले कांग्रेसलाई मात्रै दोषी देखाएको छ । तर सरकारमा सबैभन्दा बढी समय त वामहरु नै थिए नि ? उनीहरु आफैले खनेको खाल्डोमा आफै परेका छन् । अर्को कुरा वामपन्थीहरुले संस्थागत भष्टाचारतर्फ अभिमुख देखिन्छन् । त्यसले देशलाई डुबाउँछ । त्यस कारण मलाई लाग्छ अहिलेको सरकारको काम गराई अनुसार पाँच वर्षसम्मै नटिक्न सक्छन् ।

अन्त्यमा, तपाईको पार्टी पदाधिकारीमा जाने सम्भावना के छ ?

म त भर्खर पार्टी केन्द्रिय सदस्यमा आएको छु । त्यसले गर्दा पदाधिकारीको आशा मैँले राखेको छैन । सबै सुनियर नेता हुनुहुन्छ । त्यस कारण नहुने कुरामा म विश्वास गर्दिन । तर जिम्मेवारी आएको खण्डमा त्यो वहन गर्नु त स्वभाविक नै भयो ।