काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँले भने– ‘विशेष महाधिवेशनको बहस भइरहेको छ ।
प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मङ्सिरभित्र हुने अवस्था देख्दिनँ । क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन ।’
उनले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए । महाधिवेशनबारे कार्यान्वयनको वातावरण नबनाई निर्णय मात्रै गर्दै जाने हो भने कांग्रेस अपरिपक्व पार्टी बन्ने बताए । ‘महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको वातावरण नबनाई गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ,’ बानियाँले भने ।
उनले महाधिवेशनको विषयमा देखिएको पार्टीभित्रको पछिल्लो विवादलाई दुवै पक्षले जीतको महसुस गर्ने गरी समाधान गर्नुपर्ने बताए । पार्टी आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जानुपर्ने बानियाँले बताए ।


























































