काठमाडौं–कर्णाली प्रदेशको प्रदेश सभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । पहिलो अधिवेशनअन्तर्गत मंगलबार प्रदेश सभाको २१ औं र २२ औं संसद् वैठक सम्पन्न भएका छन् । बैठकमा बोल्नै अधिकांस सांसद्हरुले यही वैशाख १६ गतेको हावा, हुरी तथा असिना पानीले पुर्‍याएको क्षतितर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


पहिलो अधिवेशनअन्तर्गतको २१ औँ वैठकमा बोल्दै सांसद् सुशिल थापाले यही बैशाख १६ गते परेको हावा, हुरी तथा असिना पानीले बालीमा क्षती पुर्याएका किसानहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरे । सोही दिनको हावा, हुरीले दैलेखको दुल्लुमा बसोबास गरिरहेका मुस्लिम तथा दलित समुदायका घरका छानो उडाएकोले उनीहरुलाई पनि राहत उपलब्ध गराउनुपर्ने सांसद् थापाले माग गरे ।


ADVERTISEMENT

# # #


यस्तै अर्का सांसद् पदमबहादुर रोकायाले नेपालको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानको संरक्षणका लागि पहल गर्नुपर्ने माग गरे । उनले आफूहरु गाउँ जाँदा जनताले बजेटका बारेमा जान्न चाहने भएकाले कुन ठाउँमा कति बजेट पारिएको छ भन्ने बारेमा पनि सांसदहरुलाई जानकारी गराउन प्रदेश सरकारसंग माग गरे ।

सांसद् विन्दमान विष्टले कर्णाली प्रदेशका जनताले यातायात, सञ्चार, दैवी प्रकोप, महामारी लगायतका समस्या जेल्दै आएको भन्दै जनताप्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड् दिए । अर्का सांसद् चन्द्र बहादुर शाहीले सरकारले खडा गरेको आकस्मिक कोषमा रहेका बजेट कम भएको भन्दै आपत्ति जनाए । प्रदेशभित्र विभिन्न विपद् आईपर्न सक्ने भएकाले कोषमा रहेको १ करोड रुपैयाँ अपुग हुने भएकाले बढाउनुपर्ने प्रदेश सरकारसंग माग गरेका छन् ।

सांसद्हरुको जिज्ञासाको उत्तर दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राज्य कोषबाट जतिबेला पनि रकम निकाल्न सकिने रिजर्भ कोषको रुपमा संविधानमा उल्लेख भए अनुसार आकस्मिक कोष स्थापना गर्न लागिएको बताए । यो आकस्मिक कोष सञ्चालनका लागि मापदण्डसहितको कार्यविधी बनाउने र रकम दुरुपयोग हुन नदिने उनको भनाई थियो । उनले चालू आर्थिक बर्षको असार मसान्तसम्मका लागि उक्त कोषमा १ करोड रुपैयाँ राखिने बताए ।

यसैबीच, मंगलबार नै बसेको संसद्को २२ औँ दोस्रो वैठकमा सभामुख राजबहादुर शाहीले पहिलो अधिवेशन समापन भएको घोषणा गरेका छन् । उक्त वैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले नयाँ अनुभव तथा अभ्याससहित अधिवेशन सम्पन्न भएको प्रतिक्रिया दिए ।

उनका अनुसार नियमावलीको व्यवस्था अनुरुप विशेष समय शून्य समय प्रयोग गरिएको छ भने सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ढ्यापढ्यापे अभ्यास हुन बाँकी रहेको छ । नेता कँडेलले संसदले परिपक्व र दुरगामी महत्व राख्ने कार्यहरु गरेको बताए ।

उनले अनुसार जटिल विषय राजधानी तोक्ने र नामाकरण गर्ने कार्यलाई सर्वसम्मत् गरिनु आफैँमा गर्व लाग्दो निर्णय भएको बताए । यसका साथै अब आगामी अधिवेशनलाई अस्थायी भवनमा नभई प्रदेश सभाको स्थायी भवनमा वैठकहरु बस्नेगरि काम गर्न सभामुखमार्फत संसद् सचिवलाई आग्रह गरे ।

यस्तै, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सिता नेपालीले जनशक्ति, स्रोतसाधन अभाव भए पनि संसद्ले काम कारबाही अघि बढाउनु सकारात्मक र अनुकरणीय भएको बताईन् । उनले कर्णाली प्रदेशमा पक्षविपक्षबिहिन जस्तै देखिएको, आर्थिक कार्यविधि, आर्थिक बर्षको बजेट पारित, केही विधेयकहरु अघि बढाइएको, चारवटा विषयगत समिति बनाइएको जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न भएको बताईन् ।

नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले प्रदेश सभाले उत्कृष्ट, प्रसंशनीय काम गरेको भन्ने पक्षमा वा विपक्षमा आफूहरु नरहेको बताए । नयाँ संरचनाको शुरुवात भएको हुँदा कर्णालीलाई समृद्ध बनाउन केही बाटाहरु संसद्ले तय गरेको उनको भनाई छ । उनले अझैँ धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै सबैसंग सहकार्य गर्दै नेपाली काँग्रेस अघि बढ्ने विश्वास व्यक्त गरे ।

वैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालको सचिवालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले संसद्को पहिलो अधिवेशन समाप्त भएको घोषणा गरेका थिए ।