काठमाडौं–सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् ।


ADVERTISEMENT


उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० बरामद भएको छ । त्यसमा २ हजारको ४४२ थान र ५ सयका २०४ थान नोट छन् । भारु २ हजार र पाँच सयको नोट नेपालमा प्रतिबन्ध छ ।


ADVERTISEMENT

# # #


मंगलबार साँझ अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको छ ।

पक्राउ परेकाहरुले आफूहरुसँग तरकारी किनबेचको रकम भएको दावी गरेका छन् । तर स्थानीय प्रशासनले भने उनीहरु हुण्डी वा भारतीय मुद्राको अवैध कारोबारी रहेको हुनसक्ने अनुमान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि मात्रै थप कुरा जानकारी दिन मिल्ने बताए ।