दाङ–तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो सो मेडिकलमा उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा. प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई दिएका थिए ।

सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्याएको थियो । त्यहाँ पुर्याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म शव नबुझ्ने बताएका छन् ।

यसैबीच, घटनाको सत्यतथ्य बारेमा शव परीक्षणको रिपोर्ट आएपछि यकिन हुने र आज इलाका प्रहरी कार्यालय, तुलसीपुरमा पीडित पीडकपक्षबीच छलफलहुने बताइएको छ ।