काठमाडौँ–महानगरीय प्रहरी परिसर काठमाडौंले २५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । काठमाडौंको बौद्ध, कपन, नयाँ बसपार्क, कालिमाटी, कोटेश्वर, स्वयम्भु, टोखा लगायतका स्थानबाट नियन्त्रणमा लिएको अवैध मदिरा प्रहरीले बिहीबार आफ्नै कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरेको हो ।


ADVERTISEMENT


घरेलु मदिराको विक्री वितरण नियन्त्रण गर्नका लागी विशेष अभियान नै सञ्चालन गरेर ठुलो परिणामको घरेलु मदिरा नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एसएसपी पोखरेलका अनुसार वैशाख १ गतेदेखी हालसम्म काठमाडौं जिल्लाका विभिन्न स्थानका होटलहरु सर्च गर्ने क्रममा प्रहरीले करिब ३० लाख मूल्य बराबरको अवैध मदिरा बरामद गरेको थियो । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ समेत नष्ट गरेको छ ।

कुहिएको खाद्यान्न लगायतका अखाद्य बस्तुहरुको प्रयोग गरेर उत्पादन हुने घरेलु मदिराका कारण कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग, बलात्कार, यौनजन्य हिंसा तथा घरेलु हिंसा लगायतका अपराधमा बृद्धी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पछिल्लो तीन महिनाका अवधिमा मादक पदार्थ सेवनको कारण ५ वटा कर्तब्य ज्यान, ७ ओटा जबर्जस्ती करणी, ५ ओटा ज्यानमार्ने उद्योग, ६ सय सात ओटा सार्वजनिक अपराध र २ सय ८५ ओटा घरेलु हिंसाका घट्ना घटेको बताइएको छ ।