करीब एक सय अघिको सती प्रथामा आधारित फिल्म ‘झोला’ बनाएर चर्चामा आएका निर्देशक यादव भट्टराई अहिलेअर्को फिल्म ‘भोर’ लिएर दर्शकमाझ आएका छन् । शक्रबार (आज)देखि देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्र तराईमधेशमा व्याप्त दाइजो प्रथामा आधारित रहेको छ । सम्पूर्ण छायाङ्कन जनकपुरमा नै गरिएको चलचित्र कस्तो बनेको छ  त ? चलचित्र प्रदर्शनपछि यसले उठान खोजेको मुद्दामा कत्तिको खरो रुपमा उत्रन सक्ला ? फिल्मको सबैभन्दाबलियो पक्ष के हो ? लगायतका विषयमा हिमालय पोष्टले निर्देशक यादव भट्टराईसंग कुराकानी गरेको छ ।


ADVERTISEMENT


यस अघिको सफल चलचित्र ‘झोला’पछि ‘भोर’ ल्याउनु भएको छ । यो कस्तो खालको फिल्म हो ? बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


‘भोर’ एउटा कालो रातको कथा हो । जो हाम्रो समाजमा विद्यामान कानुनले वर्जित गरेको र कानुनले दण्डनीय भनेको तर समाजमा फैलँदो अवस्थामा रहेको भयानक कुप्रथा दाइजोको कथा हो । समाजमा देखिएको एउटा सजिव कुचित्र हो यो । जसले हाम्रो पूरै समाजलाई पछाडी पारिरहेको छ । ‘भोर’ अभिभावक, समाज र वैमान पहरेदारसंगको लडाईँ हो । जुन लडाई गरेर प्राप्त गरेको उपलब्धी छ त्यो नै ‘भोर’ हो ।

विशेषगरी तराईमा जरा गाडेर बसेको दाइजो प्रथासम्बन्धी चलचित्र बनाउँदै गर्दा कस्तो अनुभव गर्नुभयो ?

वास्तवमा अत्यन्त पीडादायी थियो । किनभने विषयवस्तुको हिसाबले हेर्ने हो भने यो कुनै चलचित्र बनाउँछु भनेर बनाउने र यसको माध्यामबाट व्यापार गर्ने विषयवस्तु होइन । तर यसको संवेदनशीलता यती गहिरो थियो कि हामीले चलचित्र नबनाइकन रहन सकनौँ । मुलतः आजभन्दा सय वर्ष अगाडीको पतिको मृत्युपछि जिउँदै चितामा हाम फल्नुपर्ने भयानक कुप्रथा सतीप्रथामा आधारित चलचित्र ‘झोला’ हामीले यसअघि नै सफल बनाइसकेका थियौँ । तर वास्तवमा मानव सभ्यताको इतिहासमा हेर्दा त त्यो भन्दा पनि भयानक दाइजो हो भन्ने हामीले बुझ्यौँ । दाइजोको कारणले गर्दा कसैले पनि छोरी जन्माउन चाहदैन । प्रविधिको विकासको कारणले गर्दा लिङ्ग परीक्षण गरेर छोरी देखिएमा निमर्मतापूर्वक भ्रुणहत्या गर्ने गरिन्छ । किनभने छोरी जन्मेमा त्यो दाइजोको पीडा आमाबावुले भोग्नुपर्छ । जुन अत्यन्तै अकल्पनीय छ । हामीले त्यो समाजमा अनुसन्धान गर्दा दाइजोकै कारण मानसिक सन्तुलन गुमाउनु पर्ने, आत्महत्या गर्नेसम्मका समस्या त्यो समाजमा विद्यमान देखियो ।

दाइजोकै बारेमा फिल्म बनाउन के कुराले तपाईलाई आकर्षित गर्यो र अहिले कस्ता प्रतिक्रिया पाइराख्नु भएको छ ?

दाइजोकै कारण जतीपनि अपराध, हत्याहरु भएका छन् । त्यसमा ९५ प्रतिशत पीडितहरुले न्याय नपाएको यथार्थ हामीले आफ्नो आँखाले देख्यौँ । तीनका पीडाहरुलाई नजिकबाट चिन्यौँ । त्यो पीडाले हामीलाई यतीधेरै छोयो कि त्यही पीडाले नै हामी यो चलचित्र बनाउन विवश भयौँ । चलचित्रमा हाम्रा पनि कमजोरी हुनसक्छन् । किनभने हामीले सीमित स्रोत, साधानका बीच काम गरेका थियौँ । तरपनि इमान्दारिताका साथ यस चलचित्रलाई उत्कृष्ट र यथार्थ बनाउने प्रयास गरेका छौँ । विभिन्न ठाउँमा हामीले विशेष शो गरेका थियौँ । त्यसबाट पनि राम्रो प्रतिक्रिया आएको छ । विद्यामान दाइजोको विरुद्धमा ‘भोर’ सबैभन्दा शक्तिशाली हतियार बन्नसक्छ भन्ने हाम्रो विश्वास छ । हामीलाई प्राप्त प्रतिक्रियाले पनि त्यसकै संकेत गर्दछ ।

चलचित्रले दिन खोजेको खास सन्देश के हो ?

हामीले समग्र रुपमा बुझ्नु पर्छ । एकपक्षीय ढंगले बुझेपछि चलचित्रप्रति अन्याय हुन्छ । चलचित्र आफैमा एउटा यस्तो शक्तिशाली संयन्त्र हो । जसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अझ हाम्रो जस्तो समाज जहाँ प्रविधिको पहुँच भएपनि हाम्रो चेतनाको विकास हुन सकेको छैन । शिक्षामा विकास हुनसकेको छैन । किनभने हामी लामो समयसम्म शोषणको एक प्रक्रियाबाट गुज्रिनु पर्यो । संसार भनेको देखिने र नदेखिने बीचको खेल हो । हामीले जतीसुकै नकारेपनि आध्यात्मिकता र भौतिकताका बीचमा संसार चलिरहेको छ । सत्यलाई हामीले अंगाल्नु सक्यो भने त्यसले हामीलाई सकारात्मक सन्देश दिन्छ ।

सत्य स्वीकानु पर्छ । आमा भनेको हाम्रो जननी हुन् । वास्तवमा माया दिएर संसार के हो भन्ने बोध गराउने आमा नै हुन् । उनीमाथि अन्याय गरेकैले पनि हामी आज पछाडी परेका छौँ । जबसम्म समाजमा जरा गाडेर बसेका सामाजिक कुपरम्परालाई हामी फ्याँक्न सक्दैनौँ तबसम्म हामी पछाडी परि नै रहन्छौँ । ‘भोर’मा हामीले यस्तै सन्देश दिने प्रयास गरेका छौँ ।

पछिल्लो समयमा नेपाली चलचित्रको धार ‘लभस्टोरी’ वा ‘कमेडी’तिर बढी केन्द्रित भएको छ । व्यापारिक हिसाबले पनि तिनै चलचित्र सफल भइरहेका छन् । दर्शकको माग पनि त्यस्तै छ । तपाईलाई तपाईको फिल्मले रिस्क मोलिराखेको छ जस्तो लाग्दैन ?

यसमा तपाईले सही कुरा गर्नुभयो । हामीले रिस्क मोलेका छौँ । तर हामीले जुन मुद्दा उठाएका छौ र जुन स्तरको फिल्म बनाएका छौँ त्यसले हामीलाई त्यो चुनौतिबाट पार लगाउने छ । अहिले जती पनि चलचित्र बनिरहेका छन् । ती सबै यथास्थितिवादी चलचित्र बनिरहेका छन् । नयाँ सोचका साथ वा नयाँ कथावस्तुका साथ बनेका छैनन् । त्यसमा हामी पनि रमाइरहेका छौँ । तर हाम्रो चलचित्रले नयाँ कुरा खोतलेको छ । चतेनाको हिसाबले हामी गलत बाटोमा पुगिसकेका छौँ । फिल्मले यो कुरामा जागरुकता ल्याउने छ ।

हामीले चलचित्रमा नेपालीका साथै मैथली भाषा पनि प्रयोग गरेका छौँ । त्यसले मैथली भाषाको विस्तारका लागि पनि टेवा पुर्याउनेछ । हामीले गीत वा द्वन्द्व नहुँदा चलचित्र चल्दैन भनेर नबुझौँ । किनभने झोलामा पनि हामीले त्यस्ता कुरा राखेका थिएनौँ । सबैले पढिसकेको त्यो कथामा कुनै रहस्य नै बाँकी थिएन । तरपनि फिल्म चल्यो । आम दर्शकले मन पराईदिनु भयो । यसबाट पनि के बुझ्न सकिन्छ भने नेपाली दर्शकले आफ्नोपन खोजिरहेको छ । त्यही आफ्नोपनको प्याकेज नै ‘भोर’ हो ।

हलमा गएपछि तपाईले फिल्म हेरेको अनुभूति नभई आफ्नै समस्या उठान गरेको पाउनु हुनेछ । त्यस कारण मलाई लाग्छ व्यवसायिक रुपमा पनि चलचित्र सफल हुन्छ ।

यस्ता विकृति विसंगती जरैदेखि उखेल्नका लागि राज्य स्तरबाट के कस्ता कदम चाल्नुपर्ने देख्नुहुन्छ ?

हामीले सुरु गरेका संकृतिबाट हामी आफू नै पिल्सीरहेका छौँ । राज्यले यस्ता कुरामा गम्भीर हुनुपर्छ । अहिले देशमा अत्यन्त शक्तिशाली सरकार गठन भएको कारणले अब आशा गर्न सकिन्छ । संघियतामा गइसकेपछि प्रदेश नं २ मा मुख्यमन्त्रीले आफ्नो पहिलो कार्य ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान चलाउनु भएको छ । दाइजो कै कारणले गर्दा छोरी नपढाउने, छोरीको हत्या गर्ने भएकाले यस्तो अभियान वास्तवमा स्वागत योग्य हो । चलचित्रको संयोग एकदमै मिठो रहेको छ । हामीले चलचित्र बनाउँदा जे पीडा भोगेका थियौँ त्यसले अहिले सकारात्मक बाटो समातेको छ ।

चलचित्र कहाँ-कहाँ लाग्दैछ ?

बैशाख २१ गते शुक्रबारदेखि यो देशभर नै लाग्दैछ । सबैभन्दा बढी हलहरुमा लाग्छ भन्ने हामीले विश्वास लिएका छौँ । रिलिज भएपछि त्यसको संख्या बढ्दै जान्छ । हामीले प्रचारमा केही कमी गरेका हौँला तर हामीले जुन मुद्दा उठाएका छौँ, जुन किसिमको चलचित्र बनाएका छौँ त्यसले समाजमा राम्रो प्रभाव छोड्ने छ । चलचित्रले समाजलाई एक पटक यस विषयका बारेमा सोच्न बाध्य बनाउनेछ । त्यही किसिमको मेहनेत गरेका छौँ । देश भरका हलहरुमा दर्शकले चलचित्र हेर्न पाउनुहुन्छ । कँही नलागेका ठाउँमा तपाईहरुले माग गर्नुभयो भने हामी अर्को दिनदेखि त्यो ठाउँमा देखाउने छौँ । किनभने हेर्नैपर्ने चलचित्र बनेको छ । यसले नेपाली चलचित्रको बाटोलाई पनि तय गर्नेछ । यो समाज परिवर्तनको पाटो मात्रै होइन, यसले नेपाली चलचित्रको धारलाई पनि परिवर्तन गर्नेछ । समाजको आवश्यकता के हो र हामी कुन स्थानमा छौँ भन्ने कुरा यस चलचित्रले बोध गराउने छ ।

अन्त्यमा, आम दर्शलाई के भन्नु हुन्छ ?

यसमा मैँले भनिसकेँ कि जुन मुद्दा हामीले उठान गरेर फिल्म बनाएका छौँ त्यसको परीक्षण गरिदिनुस् । तपाईले सोचेजत्तिकै नभएपनि त्यसले जुन सन्देश दिएको छ र हामीले जसरी व्यक्त गरेका छौँ त्यसलाई तपाईले एक पटक हेरेर समीक्षा गरिदिनुस् । राम्रो लागेमा तपाईको सर्कलमा रहेका अन्य व्यक्तिलाई पनि हेर्न अनुरोध गर्नुस् । ‘भोर’ले समाजमा केही परिवर्तन ल्याउनेछ भन्नेमा हामी आशावादी छौँ ।