काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै ब्राइटन रेलिगेशनबाट जोगिएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग १–० ले स्तब्ध भएको हो । यो सँगै युनाइटेडले उपाधि विजेता म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ ।


ADVERTISEMENT


पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ब्राइटनका लागि दोस्रो हाफको ५७औं मिनेटमा पास्कल ग्रोसले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाए । पास्कलको हेड बललाई मार्कस रोजोले क्लियर गर्ने प्रयास गरेका थिए तर बलले गोललाइन पार गरिसकेको थियो । गोललाइन प्रविधिका आधारमा ब्राइटनले गोल पायो । त्यही गोलनै निर्णायक भएपछि ब्राइटनले महत्वपूर्ण जित निकाल्दै घरेलु समर्थकलाई खुसी दिएको छ ।


ADVERTISEMENT

# # #


सन् १९८३ पछि यो सिजन पहिलो पटक प्रिमियर लिग फुटबल खेलेको उसले आउँदो सिजन पनि खेल्ने पक्का भएको हो । लिगमा अब उसले म्यानचेस्टर सिटी र लिभरपुलसँग खेल्न बाँकी छ ।

यो जितसँगै ३६ खेलबाट ९ जितसहित ४० अंक भएको ब्राइटन ११ औं स्थानमा उक्लिएको छ । पराजित म्यानचेस्टर युनाइटेड ७७ अंकसहित दोस्रो स्थानमा कायमै छ । एक खेल कम खेलेको सिटीको ९३ अंक भएको छ । तेस्रो स्थानको लिभरपुल ३६ खेलबाट ७२ तथा चौथो स्थानको टोटन्ह्याम ३५ खेलबाट ७१ अंकमा छन् । पाँचौ स्थानको चेल्सी ३५ खेलबाट ६६ अंक लिएको छ ।