पोखरा–प्रदेश ४ सरकारले ल्याएको बजेटप्रटि आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् । बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।


ADVERTISEMENT


बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए । सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’

दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।

संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।

भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’

बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।

बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्यविधिअनुसार खर्च हुन्छ ।’

छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।

प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।

सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’