जफत भएका सामान लिलामी हुनेः ६ देखि १० बजेसम्म नगर प्रहरी परिचालन गरिने


ADVERTISEMENT


काठमाडौं–काठमाडौं महानगरपालिकाले साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार-व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको छैन ।


ADVERTISEMENT

# # #


शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिएका छन् ।

‘नगर कार्यपालिकाले यस विषयमा निर्णय गरिसकेकको छ । यात्रु हिँड्ने फुटपाथमा कुनै पनि समयमा ब्यापार गर्न नदिने गरी कडाइ गर्दैछौं,’ प्रवक्ता कार्कीले भने,’आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारवाही पनि अब कडा किसिमको हुन्छ ।’

उनकाअनुसार अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको बताए ।

अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।

‘न एक रुपैयाँ भाडा तिर्नु परेको छ । न बत्ती, पानीको बिल खर्च गर्नुपर्छ । न राज्यलाई एक रुपैयाँ कर तिर्नु परेको छ । फुटपाथ ब्यापारले यात्रुको आवागमन मात्रै बिथोल्यो,’ प्रवक्ता कार्कीले भने,’अघिल्लो दिन किनेको समान कमसल पर्‍यो भने साट्न पनि उपभोक्ताले पाएनन् । ठगी बढ्यो । त्यसैले अब पूर्ण रुपमा नियन्त्रणको नीति लिएका हौं ।’