नेपाली कांग्रेसका नेता दीपक खड्कासंग हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


नेपाली राजनीतिको पछिल्लो गतिविधिलाई कसरी नियालीरहनु भएको छ ?


ADVERTISEMENT

# # #


अहिले केन्द्रीय कमिटीको बैठक विभिन्न कारणले कहिले स्थगित हुने त कहिले चल्ने गरिराखेको छ । कांग्रेस एउटा जिम्मेवार पार्टी भएको कारणले, लोकतन्त्रको हिमायती भएको कारणले र अहिले कम्युनिष्टको सरकार बन्दै गर्दा कांग्रेसको के धारणा के छ भने सरकारले ऐन कानुनको अधीनमा रहेर जनताको समृद्धिमा ध्यान दिनुपर्छ । अस्थीर सरकार भइरहेको अवस्थामा अब देशले स्थायी सरकार पाओस् । यसमा कांग्रेसको सहयोग रहन्छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै हुनुहुन्छ । यो नेपालका लागि राम्रो पक्ष हो । त्यसबाट बढीभन्दा बढी फाइदा कसरी लिन सकिन्छ भनेर यो सरकारले प्रमुख प्रतिपक्षीलाई पनि साथमा लिन जरुरी छ ।  मुलुकको हितका लागि सरकारले जे जस्तो हुन्छ गर्न तयार हुनुपर्छ ।  नेपाली कांग्रेसले पनि यसका लागि सरकारलाई साथ दिनुपर्छ । अर्को कांग्रेसमा पार्टीलाई मजबुद बनाउनका लागि केन्द्रिय समितीको बैठक बस्नेदेखि लिएर महासमितीको बैठक पनि तोकिएको छ । पदाधिकारीको नियुक्तीसंगै कांग्रेसले नयाँ बाटो लिन खोजेको छ । अरु यस्तै छ ।

भनेपछि अहिलेको अवस्थामा लरखराएको कांग्रेस अब जनताको मनमा बस्ने गरी उठ्न खोजेको हो ?

यसमा त सन्देह नै छैन । पार्टीले जहिले पनि आफूभन्दा सर्वोपरी जनता र देश मानेको छ । कांग्रेसको स्थापना कालदेखि नै तपाईँले एक चोटी सूक्ष्म ढंगले अध्ययन गर्नुभयो भने त्यो भन्दा अरु पर केही पाउनु हुन्न । आफु हार्ने भएपनि मुलुकले जित्नुपर्छ भन्ने पार्टी कांग्रेस हो । जसको पछिल्लो उदाहरण तपाई गएका तीन निर्वाचनलाई लिन सक्नुहुन्छ । पटक पटक शान्ति, लोकतन्त्र र निर्वाचनको पक्षमा कांग्रेस उभिएको छ । एकतन्त्रीय शासनलाई परास्त कांग्रेसले नै गरेको हो ।द्वन्द्वलाई शान्तिमा परिणत गरेको कांग्रेसले नै हो ।

लोकतन्त्र स्थापित गर्न निर्वाचन नै प्रमुख कडी हो र जनताको प्रतिनिधि नै चाहिन्छ भनेर संविधानमा व्यवस्था भए अनुसारको शासन व्यवस्था कायम हुनेगरी कांग्रेसको नेतृत्वमा चुनावहरु सम्पन्न भएका छन् । त्यस कारण कांग्रेसको इच्छा भनेकै जनताको इच्छा हो । मुलुक र जनताको उन्नती र प्रगती नै कांग्रेसको उन्नती प्रगती हो । त्यो गर्दा कहिले पार्टी कमजोर हुनपनि सक्छ । आफू बलियो हुने वा कमजोर हुने कुरा कांग्रेसका लागि गौण हुन्छ ।

यो बेलामा सरकारको भूमिका कांग्रेसलाई कत्तिको चित्तबुझ्दो लागेको छ ?

सरकारको आलोचना गर्न अहिले हतारो हुन्छ । केही समय काम गर्न दिएर उहाँहरुको कामको विश्लेषण गर्नु उपयुक्त होला । यो सरकार पाँच वर्ष आफ्नो कार्यकाल पूर्ण रुपमा व्यतित गर्न सकोस् । जसले देशमा शुसासन कायम गर्न सकियोस् र विकासका लागि एउटा मार्गनिर्देश तयार होस् भन्ने हाम्रो शुभेच्छा नै रहन्छ । त्यसका लागि कांग्रेसले सरकारलाई प्रमुख प्रतिपक्षीका हैसियतले सहयोग गर्छ । तर सुशासन नै कायम नगर्ने, अहिले तपाईँले देखिरहनु भएको होला प्रधानमन्त्रीले आफ्नो अधिनमा कती कुराहरु ल्याउनु भएको छ । अदालतप्रति उहाँको धारणा कस्तो बन्दैछ ? आजसम्म पनि प्रधानन्यायाधीशको नियुक्ती हुन सकिरहेको छैन । यस्ता चरित्रहरुले लोकतन्त्रमाथि प्रश्न उठाउने गर्छ । यसमा कांग्रेस शसंकित छ । सरकारको दम्भ बढेको जस्तो हामीलाई अनुभूति भएको छ । कांग्रेस अहिले सरकारलाई बाटोमा ल्याउनका लागि सुझाव दिइरहेको छ । भएन भने कांग्रेस चूप लागेर बस्दैन ।

यो दृश्यबाट सरकार पाँच वर्षसम्म टिक्ने देख्नुहुन्छ ?

हाम्रो बुझाई के हो भने लोकतन्त्रभित्र धेरै दल भएको राम्रो हो । जसले प्रतिस्पर्धा बटाएर जनताको पक्षमा काम गर्न मदत पुर्याउँछ । तर विगतका केही वर्षदेखि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि दलहरु खोल्ने कामले जनतालाई राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ । त्यसो भएको कारण अहिले खुसीको कुरा कम्युनिष्टहरु एक ठाउँमा बसेका छन् ।

अब लोकतन्त्रवादीहरु एउटा सरकारमा र अर्को प्रतिपक्षमा बसिरहने भएकोले धेरै दलको आश्यकता नदेखिएको जस्तो देखिन्छ । आज उहाँहरुले चलाउनु भएको छ । पाँच वर्षपछि फेरि हामी चलाउन सकौँला । यसले जनतालाई नै फाइदा पुर्याउने हो । त्यस कारण यो सरकार पाँच वर्ष नै टिक्ने मैँले देखेको छु । उहाँहरुलाई स्थिर सरकारका लागि जनताले मत दिएका हुन् । त्यस कारण यो सरकार पाँच वर्ष नै चल्नुपर्छ भन्ने मान्यता हो । तर सरकारले जिम्मेवारीका साथ काम गर्नैपर्छ । नत्रभने त हामी प्रतिपक्षको दायित्व हामी पूरा गर्नेछौँ ।

विकास र समृद्धि नै यो सरकारको प्रमुख एजेण्डा हो भन्ने गरिन्छ । तर त्यही सरकारका अर्थमन्त्रीले देशको ढुकुटी रित्तो छ भनेर भाषण गर्छन् । संघियतामा गएपछि प्रदेश सरकारलाई आवश्यक खर्चको खाँचो छ । यो हिसाबले कसरी देश अगाडी बढ्छ ?

अर्थमन्त्रीले स्वेतपत्र जारी गरेर सरकारी ढुकुटी रित्तो छ भनेर भन्नु भएको छ । मलाई लाग्छ यो मुलुकका लागि केटाकेटीपन तथा गैरजिम्मेवारपन हो । स्थायी सरकार निर्माण गरेर अब हामी देश बनाउन लाग्दैछौँ भनेर एकातिर अन्तराष्ट्रिय समुदायलाई भनिराखेका छौँ । अर्कोतिर अर्थतन्त्र रित्तो छ, देश टाट पल्टिसक्यो भनेपछि कुन लगानीकर्ताले लगानी गर्छ ? यो आपत्तिजनक कुरा हो । सबै थाहा छ मुलुक हाम्रो गरीब छ । तर स्रोत साधानमा हामी धनी छौँ । यसको सही सदुपयोग गर्नुपर्छ ।

त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सरकारले चाँजोपाँजो गर्नुपर्छ । नत्र सरकारको के काम ? मसंग केही पनि छैन भनेर ठाडो खुट्टा लगाएर रुवाबासी गर्ने होइन । नभएको कुरा व्यवस्थापन गर्ने हो । त्यसकै लागि जनताले देश चलाऊ भनेर मत दिएका हुन् । विकास गर्ने चाहाना मनदेखि नै छ भने पैसाको अभाव हुँदैन । अर्को महत्वपूर्ण कुरा भनेको जुन एजेण्डाका लागि उहाँहरुले भोट माग्नु भएको हो । त्यो गरेर देखाउनुपर्छ । अब जनतालाई झुक्याउन पाइँदैन ।