काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटप्रति माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सोमबार गरेको ट्वीटले पार्टी एकतामा नराम्रो सन्देश ल्याएको भन्दै ध्यानाकर्षण गराएका थिए । बैठकमा नेताहरुले पार्टी अध्यक्ष दाहाललाई पार्टी एकता हुन्छ कि हुँदैन भनेर प्रश्नसमेत गरेका थिए ।


ADVERTISEMENT


बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष दाहालले ट्वीटको बारेमा आजै प्रधानमन्त्री ओलीलाई भेटेर कुरा राख्ने बताएका थिए । दाहालले पार्टी एकता अन्तिम मोडमा पुगेको बताउँदै एकता घोषणाको मिति तोक्नमात्र बाँकी रहेकाले नेताहरुलाई विश्वस्त हुन आग्रह समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा सहभागी माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले भने, “बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई नेताहरुले बजेट, पार्टी एकता र ओलीको ट्वीटको बारेमा जिज्ञाशा राख्नुभएको थियो । नेताहरुले अध्यक्षलाई पार्टी एकता हुने हो की होइन भनेर प्रश्न गर्नुभएको थियो । सोमबार प्रधानमन्त्रीले गरेको ट्टीटको विषयमा पनि हामीले अध्यक्षलाई ध्यानाकर्षण गराएका थियौं । प्रधानमन्त्रीले त्यो कुरा बोल्न हुँदैनथ्यो । समीकरण बदल्न बानी परेकाहरु भन्दा कसलाई भन्न खोजेको प्रष्ट हुन्छ । ओलीले प्रचण्डलाई नै समीकरण बदल्न बानि परेको भन्नुभएको हो ।”

बस्नेतले थपे, “ओलीजी आफू प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति आफैले छानेको मान्छे बनाउनु भएको छ । योभन्दा बढी मात्तिने हो भने के हुन्छ भोलि ? ओलीजीले यस्तै कुरा गर्दै जाने हो भने, केही कुरा पचाउन नसक्ने हो भने, यो देशको नेतृत्व कसरी गर्नुहुन्छ ? प्रचण्डले पनि त पचाउन नसक्ने कुरा पचाउनु भएको छ । उहाँलाई पनि त भन्न लागेको होला ।”

ट्वीटमा के थियो त्यस्तो ?

सोमबार प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै समीकरण बदल्न बानी परेको आरोप लगाएका थिए । ओलीले ट्वीटरमा लेखेका थिए, “हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखा पर्छ, किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।”

महाधिवेशनपछि प्रचण्ड चिन्ता

एमाले र माओवादी केन्द्रबीच एकताको लागि अहिले प्रचण्ड व्यवस्थापन, केन्द्रीय समिति बाँडफाँट, जनयुद्ध र चुनाव चिन्हको बारेमा एकता अड्किएको छ । दुई दलबीच कुनै ठोस सहमति भएको छैन ।

एमाले र माओवादीबीच अहिले पार्टीको दुवै अध्यक्ष रहने सहमति भएको बताइएको छ । प्रधानमन्त्री आलोपालोको विषयमा कुनै सहमति बनेको छैन ।

संसदीय दलको बैठकमा एमालेकै कारण पार्टी एकता ढिलो भएको नेताहरुले बताएका थिए । “पार्टी एकता गर्ने भनेको समानताको आधारमा हो, न्यायको आधारमा गर्ने हो । राष्ट्रको लागि योगदान नभएको भए पार्टी एकता गर्ने अवस्थामा हामी आउँदैनथ्यौं,” माओवादी केन्द्रका एक नेताले भने, “एउटा अध्यक्ष अर्को प्रधानमन्त्री बनेको भए पार्टी एकता लम्बिने थिएन । एमालेकै कारण एकता लम्बियो । प्रचण्डले अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष खोज्नु भएको होइन । महाधिवेशन पछाडि के गर्ने भन्नेमात्र हो । महाधिवेशनपछि प्रचण्ड कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष हुनुपर्छ भन्ने हामीले माग राखेका छौं । प्रचण्डजीलाई पनि त्यही सुझाव दिएका छौं ।”

प्रचण्ड २ वर्षपछि प्रधानमन्त्री हुने विषय फाइनल नभएको पनि उनले बताए । “बाहिर आएको विषय फाइनल भएको छैन । एकता संयोजन समितिले मात्र गरेको हो । दुई अध्यक्षले फाइनल गरेपछि मात्र फाइनल हुने हो,” उनले भने ।

‘जनयुद्ध लत्याएर जबज राख्न खोजियो’

पार्टी एकताका लागि एमाले र माओवादीबीच, एकीकृत पार्टीको अध्यक्ष, चुनाव चिन्ह र जनयुद्ध शब्द महाधिवेशनमा टुङ्याउने सहमति भएको छ । महाधिवेशनमा जनयुद्ध शब्द टुङ्गाउने सहमति भए पनि पार्टी बैठकमा माओवादी नेताहरुले जनयुद्धले ल्याएका परिवर्तनहरुलाई तोडमोड गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

माओवादी केन्द्रका नेता बस्नेतले एमालेले जनयुद्ध शब्द तोडमोड गर्न खोजेको आरोप लगाए । “अहिले यहाँसम्म नेपाल कसरी आइपुग्यो ? जनयुद्धले ल्याएको परिवर्तनका एजेन्डाहरुलाई जनताको बहुदलीय जनवादले ल्याएको भन्ने जनतामा भान पारिँदैछ । नेपाल यहाँसम्म माओवादीको जनयुद्धले ल्याएको हो कि जनताको बहुदलिय जनवादले ? गणतन्त्र ल्याउनलाई सजिलो थियो र ? त्यसैले जनयुद्धलाई तोडमोड नगर्न हामीले एमाले साथीहरुलाई आग्रहसमेत गरेका छौं,” बस्नेतले भने ।

आजको बैठकमा हिजो छुटेका सांसदहरु र उद्योगमन्त्री मातृका यादव तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कुरा राखेका थिए । मन्त्री र सांसदहरुले नयाँ बजेट सिलिङ घटेको बताउँदै संघीयतामा आधारित भएको पार्टी अध्यक्ष प्रचण्डलाई रिपोर्टिङ गरेका थिए ।