काठमाडौं – एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।


ADVERTISEMENT


अनेरास्ववियूको महाधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् । लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो लबिङ बढाएका छन् ।


ADVERTISEMENT

# # #


प्रतिस्पर्धीहरु धेरै भएकाले केन्द्रीय कमिटीको बहुमतबाट नयाँ अध्यक्ष चयन हुने अनेरास्ववियूका नेताहरुले बताएका छन् । यसअघि युवा संघको नयाँ नेतृत्व पनि केन्द्रीय कमिटीबाटै चयन भएको थियो ।

अनेरास्ववियूको स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरेको महासचिव ऐन महरले विज्ञप्तिमार्फत जनाएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा आयोजना हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने महरले बताए ।

अध्यक्ष नवीना लामाको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा विद्यार्थी इञ्चार्ज तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विद्यार्थी नेताहरुलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् । उनले पार्टी एकीकरणसँगै जनसंगठन पनि एकीकरण हुने भएकाले अनेरास्ववियूको गर्बिलो इतिहास जोगाउने गरी अघि बढ्न निर्देशन दिए ।

केन्द्रीय कमिटी बैठकको व्यवस्थापनका लागि महासचिव ऐन महरको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ । त्यस्तै कोषाध्यक्ष झपिन्द्र खत्रीलाई आर्थिक समिति र सचिव आरसी लामिछानेलाई खाद्य समितिको नेतृत्व दिइएको छ । त्यस्तै अर्का सचिव समिक बडाललाई आवास तथा मञ्च व्यवस्थापनको जिम्मेवारी दिइएको महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचनबाट अध्यक्ष चयन गरिने स्रोतले जनाएको छ । अध्यक्ष नवीना लामाले केन्द्रीय कमिटीमै आफ्नो राजीनामा पेश गर्ने सम्भावना छ । अध्यक्षका लागि महासचिव ऐन महरलाई संस्थापन पक्षले अघि सारेको स्रोतले जनाएको छ ।

यसअघि महाधिवेशनमा महर अध्यक्षको दाबेदार थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नवीनालाई सघाउन आग्रह गर्दै उनीपछि ऐनलाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए । यसबीचमा विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारीले पार्टी अध्यक्ष ओलीसँग छलफल समेत गरेका छन् ।

नवीनाले राजीनामा दिएको खण्डमा अध्यक्षका लागि चारैजना उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामा पनि अध्यक्षको दाबेदारका रुपमा देखिएका छन् । उनीहरु सबै पार्टीभित्र संस्थापन पक्षकै हुन् ।

ऐन महर अध्यक्ष भएमा रिक्त हुने महासचिवका लागि सचिवहरु समिक बडाल, सुदेश पराजुली, आरसी लामिछाने र आरती लामा दाबेदार छन् । पराजुली र लामा पार्टीभित्र माधव नेपाल पक्षका हुन् भने बडाल र लामिछाने संस्थापन पक्षका हुन् ।

अध्यक्ष संस्थापन पक्षले पाएपछि महासचिव आफूहरुले पाउनुपर्ने सुदेश पराजुली र आरती लामाको दाबी छ । अनेरास्ववियूको १४६ सदस्यीय केन्द्रीय कमिटीमा ऐन महरको पक्षमा ८५ सदस्य छन् ।