काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहानदेखि दुईदिने नेपालको धार्मिक भ्रमण गर्दैछन् । तर उनको यो भ्रमणलाई यसपाली नेपालीहरुले मन नपराएको स्पष्ट रुपमा नै सामाजिक सञ्जालमा देख्न सकिन्छ । नेपालले २०७२ असोज ३ गते जारी गरेको संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै भारतले गरेको नाकाबन्दी सम्झँदै नेपालीहरुले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका छन् ।


ADVERTISEMENT


#BlockadeWasCrimeMrModi ट्वीटरमा ट्रेन्डिङ भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले शुक्रबार बेलुकी ८ बजे १० मिनेट ब्ल्याकआउट गर्ने भन्दै प्रचार तीव्र पारेका छन् ।


ADVERTISEMENT

# # #


ट्वीटर प्रयोगकर्ता अनुप लामिछाने लेख्छन्– मोदीको कुट्ने कूटनीति र हाम्रा नेताको चिप्लोमेसीको विरोधस्वरुप २८ गते बेलुकी ८ बजेदेखि ८ः१० सम्म बत्ती निभाउँ ।

केदार शर्माले ट्वीट गर्दै भनेका छन्– नेकेपी (नेता खड्ग प्रसाद) ओमालेका मौनव्रती मित्रहरु, तपाईँहरुले जे भने पनि (वा जति चूप बसे पनि) मोदीको नागरिक अभिनन्दन नाकाबन्दीमा चोट लागेको नेपाली स्वाभिमानको मानमर्दन हो । मुखियाको अन्यायमा परेका गरीबलाई गाउँको ‘पन्चेती’ले मुखियाकै खुट्टा ढोगाएजस्तो ! चित्तै नबुझ्ने के !

पत्रकार शिव दाहालले ट्वीटमार्फत भनेका छन्– सत्ताधारीले गर्ने मोदीको अभिनन्दन जनमतविरुद्धको अनावश्यक खातिरदारी हो । संविधान भारतअनुकूल नभएकै कारण नाकाबन्दी लगाउने मोदी नेपाली जनता माझ त सधैं घृणाका पात्रको रुपमा रहनेछन् ।’

सामाजिक सञ्जालमा नाकाबन्दीका बेला नेपाली जनताले पाएको दुःखका तस्बिर पोष्ट गर्दै मोदीलाई सरकारले गर्न लागेको नागरिक अभिनन्दनको चर्को विरोध भएको छ । ग्यासको लाइनमा बसेका नेपाली, डिजेल नपाएर एउटै बसको छतमा सयौं जना बसेर यात्रा गरेका तस्बिर राखेर मोदी नेतृत्वको सरकारले नेपालप्रति गरेको नाकाबन्दीको स्मरण गरिएको छ । ट्वीटर प्रयोगकर्ता बेदान्त ठकुरी लेख्छन्– एमालेका मेरा प्यारा मित्रहरु ! टिएलमा खुट्टो टेक्ने ठाउँ छैन ? नेतृत्वले गलत गरे विरोध नगर्ने ? हिजो पनि विरोध गरिएको थियो आज पनि गरिँदैछ ।

अर्का प्रयोगकर्ता हेमन्त बन लेख्छन्–बन्दुक बोकेरै मोदीलाई गोली हान्नुपर्छ भनेको हैन । किन नाकाबन्दी गरिस् भन्दै गाला फुट्ने गरि हान्नुपर्छ भनेको पनि हैन । भनेको छ केबल, भूकम्पले लथालिङ्ग भएको मुलुकलाई नाकाबन्दी लगाउने मोदीलाई नागरिक अभिनन्दन नगरौं भनेको हो ।’