लमजुङ– स्थानीय तह निर्वाचनका क्रममा लमजुङका तीन स्थानमा निर्विरोध भएका छन् । चुनावमा गठबन्धन गरेर अघि बढेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।


ADVERTISEMENT


नेकपा (एमाले)का तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै निर्विरोध भएका हुन्। सोही वडामा एमालेबाटै उम्मेदवारी दिएका अर्का खुल्ला सदस्य पनि निर्विरोध भएका छन् ।


ADVERTISEMENT

# # #


खुल्ला दुई चाहिनेमा एमालेबाट दुईजनाको मात्र उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसका तर्फबाट एकजनाले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट उम्मेदवारी परेका अर्का एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी रद्द भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भएका छन् । वैशाख २२ गते निर्वाचन चिह्न वितरणको समयमा निर्विरोध हुने सदस्यको नाम टुङ्गो लाग्ने कार्यालयले जनाएको छ ।

प्रमुख पदमा एकमात्र महिला

बेनी, म्याग्दी : यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा गाउँपालिकाको प्रमुख पदमा एकजना महिलाले मात्र उम्मेदवारी दिएकी छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा धौलागिरि गाउँपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट माध्यमिक विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर थमसरा पुन गाउँपालिका प्रमुखको उम्मेदवार बनेकी हुन् ।

पुनले धौलागिरि गाउँपालिकाको मुदी खिवाङमा अवस्थित चन्द्रज्योति माविको प्रधानाध्यापक पदबाट राजीनामा दिएर गाउँपालिका प्रमुखको उम्मेदवार बनेकी हुन्।

गाउँपालिका प्रमुखमा जिल्लाको एकमात्र महिला उम्मेदवार बनेपछि पुनको चर्चा चुलिएको छ । महिलालाई उपप्रमुख भन्दै कोटा विभाजन गरिएको अवस्थामा पुनले गाउँपालिकाअन्तर्गतका पुराना नेतालाई समेत पन्छाएर प्रमुखको उम्मेदवारीसँगै धौलागिरि गाउँपालिकाका मुदी, मुना, ताकम, मराङ, लुलाङ र गुर्जाका बस्तीमा आफ्नो योजनासहित चुनावी प्रचारप्रसार सुरु गरेकी छन् ।

उनी पदबाट राजीनामा दिएर आफ्ना योजनासहित अभियानमा जुटेकी छन् । धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । दुई पार्टीको गठबन्धनलाई चुनौती दिँदै प्रमुख पदको उम्मेदवार बनेकी पुन शिक्षा क्षेत्रका साथै विभिन्न सङ्घसंस्थामा समेत सक्रिय छिन्।

महिला नेत्रीले गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि पुनलाई बधाई दिनेको ताँती लागेको छ । “दुर्गम गाउँपालिकाको जिम्मेवारीमा पुग्ने प्रयासलाई हामीले ठूलो उपलब्धिका रुपमा लिएका छौँ । महिला सक्षम भए सहजै जिम्मेवारी बहन गर्न सक्छन् भन्ने उदाहरण बन्ने प्रयासमा हुनुहुन्छ थमसरा पुन”, दिदीबहिनी सहकारीकी अध्यक्ष जमुना आचार्यले भने ।

धौलागिरि गाउँपालिकामा पुरुष चारहजार चारसय ८६ र महिला चारहजार आठसय ४८ गरी नौहजार तीनसय ३४ मतदाता रहेका छन् ।