इलाम–विश्वकै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) बचाउने स्थानीयको प्रयास असफल भएको छ । इलाम नगरपालिका–३, पुवामझुवाको ओराले चौर भन्ने ठाउँमा दुई वटा कुकुरले शिकार गरिरहेको बेला स्थानीयले रेडपाण्डाको उद्धार गरेका थिए । तर, कुकुरको टोकाइका कारण रेडपाण्डा केही बेरमै मरेको थियो ।


ADVERTISEMENT


घाँस काट्न जाँदै गर्दा स्थानीय डिम्बाकुमारी गुरुङले कुकुरले शिकार गरिरहेको देखेपछि उद्धार गरेकी थिइन् । उद्धारलगत्तै रेडपाण्डा मरेको उनले बताइन् । कुन जनावर हो भन्ने समेत नचिनेपछि उनले स्थानीय वडा कार्यालयलाई खबर गरेकी थिइन् । वडाध्यक्ष तीर्थ गुरुङले जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


खबर पाएपछि जिल्ला वन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका प्रतिनिधिहरु गएपछि मात्र उक्त वन्यजन्तु दुर्लभ रेडपाण्डा भएको खुलेको थियो । मृत भाले रेडपाण्डा सदरमुकाममा ल्याइएको छ ।

जिल्ला पशु कार्यालय इलामले शुक्रबार बेलुकी नै रेपान्डाको पोष्र्टमाटम गरेको जानकारी दिएको छ । सहायक जिल्ला वन अधिकृत अमर मण्डलले पोस्ट मार्टमका क्रममा घाँटीका साथै अगाडि र पछाडिको खुट्टामा टोकेको र फोक्सोमा समेत असर परेको देखिएको जानकारी दिए ।

विश्वकै दुर्भल रेडपाण्डा सामान्यतया २२ सय मिटर देखि ४५ सय मिटरको उचाईमा पाइने भए पनि पुवामझुवाको १७ सय किलोमिटर उचाईमा कसरी आइपुग्यो भन्नेमा पशुविज्ञहरुले आश्चर्य व्यक्त गरेका छन् ।

रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । इलामको जमूना, माइपोखरी, जोगमाई र माइमझुवा र माबुमा पाइने भनेपनि यसपटक भने पुवामझुवामा पनि भेटिएको छ । लजालु र सोझो प्रकृतिको दुर्लभ रेडपाण्डा नेपालमा तीन सय ५० को संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।