काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको ‘धार्मिक, सांस्कृतिक’ भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । जनकपुरबाट सुरु भएको उनको धार्मिक यात्रा मुक्तिनाथ र पशुपतिनाथसम्म भएको थियो । मोदी भ्रमणकै क्रममा ‘रामायण सर्किट’को घोषणासमेत भइसकेको छ ।


ADVERTISEMENT


मोदीले परम्परागत, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्न तीर्थाटनको विकास र प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् । तर २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएका सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने भारतीय घोषणाको अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।


ADVERTISEMENT

# # #


भूकम्पले क्षति पुगेका १ सय ९० वटा पुरातात्विकसम्पदाको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता भारत सरकारको थियो । सम्पदा निर्माण तथा मर्मतका लागि २ अर्ब ८० करोड सहयोग गर्ने घोषणा उसले गरेको थियो ।

भारतको सहयोगको प्रतिबद्धतापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले सोहीअनुसार योजनासमेत बनायो र तर प्रतिबद्धता पूरा नहुँदा भत्किएका सम्पदाको पुनर्निर्माणले तीन वर्षसम्म पनि गति लिन नसकेको विभागले जनाएको छ ।

भारतले २८ पुरातात्विकसम्पदाको पुनर्निर्माणमा अनुदान सहयोग गर्ने घोषणा गरेको थियो भने १ सय ६२ वटा अन्य पुरातात्विकसम्पदाको पुनर्निर्माण योजनामा भारतीय एक्जिम बैंकले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

भारतले अनुदानबापत १ अर्ब ४० करोड र भारतीय एक्जिम बैंकले १ अर्ब ४० करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । भारतले भक्तपुरको पुजारी मठ, सेतो मच्छिन्द्रनाथ, पाटनको भीमसेन मन्दिर, बूढानीलकण्ठ मन्दिर, पाटन अदालत भवनलगायत मठ मन्दिर देवालयको निर्माणमा सहयोग गर्ने बताएको थियो। भूकम्पले क्षति पु¥याएका सिन्धुपालञ्चोक, रसुवा र गोरखामा गुम्बा निर्माणमा समेत सहयोग गर्ने उसको प्रतिबद्धता थियो । – आजको अन्नपूर्णबाट