धनगढी– व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् ।


ADVERTISEMENT


भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु उत्पादन गर्दा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।


ADVERTISEMENT

# # #


कैलाली गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरी आलुको उत्पादन वृद्धि भए पनि बिक्री गर्दा लगानीबमोजिमको मूल्य पाउन नसक्दा किसान मारमा परेको बताउँछन्।

गत वर्ष २४ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका यहाँका किसानले गएको हिउँद याममा २९ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका थिए । कार्डिनल र पिरकौली जातको झन्डै तीन हजार १०० क्विन्टल आलु उत्पादन भएको चौधरीले बताए । उचित मूल्य नपाउँदा ठूलो परिमाणको आलु गोदाममा थन्किएको छ ।

“भारतबाट भित्रिने आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा मारमा परेका छौँ,” स्थानीय रामसुुन्दर चौधरीले भने । कैलालीको साबिक उदासीपुर, पहलमानपुर, चौमाला, जोशीपुरलगायतका गाविसका विभिन्न सहकारी संस्थामा आबद्ध किसानले पछिल्लो समय व्यावसायिक रुपमा आलु उत्पादन गर्दै आएका छन् । आलु भण्डारनका लागि शीत भण्डारन गृहको समस्या समेत किसानले झेल्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी गौरीशङ्कर गुप्ताले उत्पादन भएको आलु सम्बन्धित किसानले समयमै बिक्री गर्न नसकेका कारण अहिले आलु बिक्री गर्न र भण्डारनको समस्यमा देखिएको बताए ।

उत्पादन भएको आलु बर्दिया र महेन्द्रनगरको कोल्ड स्टोरमा राख्न सल्लाह दिएकोमा किसानले समयमै कोल्ड स्टोरमा आलु राख्न नसकेको गुप्ताले बताए । कैलालीमो गत वर्षसम्म पाँच हजार हेक्टरमा आलुखेती हुने गरेकोमा यस वर्षको हिउँदे याममा छ हजार हेक्टरमा आलुखेती विस्तार भएको बताइएको छ । यस वर्ष जिल्लामा करिब ९१ हजार मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ । रासस