विराटनगर–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पार्टी सभापति विधान र सहमति दुबै मिचेर अगाडि बढेको भन्दै उनले विरोध गरे । दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान मिचेको र अहिले पदाधिकारी नियुक्त गर्दा सहमति विपरित हिँडेको उनले बताए ।


ADVERTISEMENT

# # #


एउटा धारा निलम्बन गरेर विधान सम्वत बनाउने वा सहमति गरेर पदाधिकारी नियुक्त गर्ने बाटो भएपछि सभापति देउवाले दुबैलाई लत्याएको उनको आरोप छ । सोमबार विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने, सबै शक्ति मैले संचय गरेँ भने म अधिनायकवाद हुन्छ, यो पार्टीमा पनि लागू हुन्छ, सरकारमा पनि लागू हुन्छ ।’

उनले अघि भने, मैले सरकारलाई मात्र इंगित गरेको होइन, यो पार्टीमा पनि लागू हुन्छ । मैले भनेकै ठीक, अरुले भनेको सोच राख्नु नै अधिनायकवाद हो ।’ यद्यपि, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनित भएका नेताहरु योग्य, पुराना नेताहरु भएको भन्दै व्यक्तिका बारेमा केही भन्नु नरहेको उनले बताए ।

उनले तत्काल महाधिवेशन गर्न माग गरे । ‘सभापति देउवा जति कुर्सीमा रहनुहुन्छ, पार्टी त्यति नै कमजोर हुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो छ’ कोइरालाले भने । कांग्रेस नेता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सकारात्कम भएको बताए । तर, भारतीय जनता पार्टीका सांसद आजादले जनकपुर भारतलाई फिर्ता गर्नुपर्ने अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै उनले विरोध गरे ।

साथै मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति उपयुक्त नरहेको टिप्पणी गरे । घरको कुरा घरमा मिलाउँदा राम्रो हुने भन्दै उनले पाहुनाको अघि यस्ता कुरा गर्नु उचित नहुने धारणा राखे ।