राष्ट्रिय जनता पार्टी (राजपा)का सह-महामन्त्री डा. सुरेन्द्र झासंग हिमालय पोष्टले पछिल्लो राजनीतिक परिदृष्यका बारेमा गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


राजपाको पछिल्लो गतिविधि के कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


हाम्रो पार्टी स्थापना भएको भर्खरै मात्र एक वर्ष पूरा भएको छ । काठमाडौँसंगै २० वटै जिल्लामा राजपाको प्रथम वार्षिकोत्सव वैशाख ७ गते मनायौँ । यसबाट हाम्रो ठूलो उपलब्धी के रह्यो भने मधेसका पार्टीहरु विभक्त थिए । अहिले हामी सबै एक ठाउँमा आएका छौँ । यो नै उपलब्धी हो जस्तो लाग्छ । त्यसपछि हामी संघर्षबाट जन्मेका पार्टी भएकाले गएको वर्ष हामी एक भएर खासगरी स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा हामीले भाग लिएका थियौँ । त्यस्तै प्रदेश र संघीय निर्वाचनमा पनि हामी सहभागी भयौँ । जसबाट हामीले सोचे अनुरुप नै परिणाम आयो । प्रदेश नं २ मा हामीले सरकार निर्माण गरेका छौँ । त्यस अनुसार पार्टीको गतिविधि राम्रैसंग चलिराखेको छ ।

तन मिलेपनि मन मिलेको छैन भनेजस्तै तपाईहरुभित्र पनि पार्टीहरु एक भएपनि भावनात्मक एकता छैन भन्ने सुनिन्छ । खासमा के हो ?

होइन । भावनात्मक एकता नभएर त पार्टी एकता पनि हुनसक्दैन नि । तर पनि फरक पृष्ठभूमि र फरक कालखण्डमा काम गरेका पार्टीहरुको आफ्नै किसिमको अनुभव थियो । ती सबैलाई हामीले एकै ठाउँमा ल्याएर नयाँ राजनीतिक प्रयोग गर्यौँ । त्यसकारण यहाँले भन्नु भएजस्तै एक नभएको हुनपनि सक्छ । मोर्चाबन्दी भएर जसरी हामीले आन्दोलन गर्यौं। त्यसकारण मोर्चाको धङधङी हामीकहाँ अझैपनि छ । निर्णय प्रक्रिया अध्यक्ष प्रणालीमा हामीले गरेका छौँ । त्यसैले पार्टीको एक वर्षको अनुभवमा दुईवटा तहमात्रै बढी प्रभावकारी देखियो । एउटा केन्द्रको अध्यक्षमण्डल र अर्को जिल्लाको अध्यक्षमण्डल । त्यसबाहेक सांगठानिक संरचनामा केन्द्रीय समिति, प्रादेशिक समिति लगायतका अन्य पदाधिकारीहरु हामी निर्माण गर्नै नसक्ने अवस्थामा पुग्यौँ ।

यस्तै पार्टीमा यी संरचनाको उपयोगिता पनि कम भयो । एक वर्षभित्र महाधिवेशन गर्न भनेर हामीले एउटा लक्ष्य लिएका थियौँ । त्यो महाधिवेशन हुन सकेन । अब हामी महाधिवेशनमा जानुपर्छ । अर्कोतिर पार्टीको राजनीतिक समिति र अध्यक्षमण्डल बाहेकका केन्द्रीय समिती कार्यहरु त्यती प्रभावकारी छैन । त्यस कारण अब तुरुन्तै राजनीतिक समितिको बैठक बस्ने र त्यसपछि पदाधिकारीको बैठक बसेर पार्टीका भातृ संगठनका अधिवेशन सकेर विभागहरु गठन गर्ने कार्य गर्नुपर्छ ।

यसरी कार्यविभाजन गरेर तहगत रुपमा काम गर्दै गयौँ भने आउने ६ महिनामा हामी पार्टीलाई महाधिवेशनतिर लिएर जान सक्षम हुन्छौँ । अर्को कुरा हाम्रो पार्टीभित्रका महन्थ ठाकुर र शरदसिंह भण्डारी र अन्य केही नेताबाहेक धेरैजनासंग महाधिवेशनको अनुभव छैन । उहाँहरुले टुटफुट गरेर पार्टी खोल्नुभयो । यो एउटा चुनौतिका रुपमा खडा भएको छ । पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुँदा निर्णय ढिलो भयो भन्ने किसिमको आवाज उठिरहेको छ । यी कुराहरुलाई सम्बोधन गर्नेगरी हामी जानुपर्छ ।

भनेपछि ६, ६ जना अध्यक्ष धान्न नसकेपछि राजपा अन्ततः महाधिवेशनतिर जान लागेको हो ?

यो हाम्रो बाध्यता हो । कुरा कस्तो छ भने राजपामा खासगरी अध्यक्ष मण्डलका केही साथीहरु अतृप्त आत्माहरुको समूह जस्तो देखिने गर्नु भएको छ । उहाँहरुले जे पाउनु थियो पाइसक्नु भएको छ । अब संगठनलाई जीवन्त बनाउने हो भने नयाँ उर्जा भएका साथीहरु, मधेश आन्दोलनबाट नेतृत्व लिन सक्ने क्षमता भएका साथीहरु र संगठनमा जसको स्वच्छ छवी छ, जसले योगदान दिएको छ तिनीहरु मध्येबाट नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनका लागि महाधिवेशन हुनै पर्छ ।

त्यसैले यो महाधिवेशनमा पार्टीलाई लिएर जाने हो । किनभने थुप्रै साथीहरुले ठाउँ पाउनु भएको छ । काम गर्ने अवस्था छ । प्रदेश संरचनामा जानु भएको छ । तर कतिपय साथीहरु हुनुहुन्छ । जसलाई पार्टीले स्थान दिन सकेन । उहाँहरुलाई पार्टी सञ्चालन गर्ने अभिभारा पनि हामीले ताक्यौँ भने पार्टीलाई चस्त दुरुस्त पार्न सकिन्छ । अब यो कसैको प्राइभेट पार्टी रहेन । त्यसकारण राजपालाई मधेसमा मात्रै सीमित नगरेर देशभरि नै फैलाउनका लागि पनि महाधिवेशन आवश्यक छ ।

तपाईले राजपामा युवा नेतृत्व आउनु पर्छ भनेर संकेत गर्दै हुनुहुन्छ । कहिलेसम्ममा तोकिन्छ त महाधिवेशनको मिती ?

अब छिट्टै हुनुपर्छ । हाम्रो अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएर केही समय ढिला भएको हो । उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु भएको छ । एक साता समय लाग्छ । त्यसपछि हामी तुरुन्तै राजनीतिक समितीको बैठक बस्छौँ र संघीय संसदको संसदीय दलको नेता चयन हुन्छ र पदाधिकारीको बैठकपछि महाधिवेशनको मिती तय हुन्छ ।

राजपा पनि सरकारमा जाने कुरा थियो । तर अहिले सेलाएको छ । अहिले सरकारसंग राजपाको सम्बन्ध कस्तो छ ?

संघीय सरकारमा हामीले प्रधानमन्त्री केपी ओलीलाई मतदान गरेका हौँ । राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख सबैलाई हामीले मतदान गर्यौँ । उहाँहरुलाई हाम्रो मतदान संविधान संशोधनका लागि हो । संविधान संशोधन हुनुपर्छ भनेर हामीले पहिलेदखि नै माग राख्दै आएका हौँ । बल अब प्रधानमन्त्रीको कोर्टमा गएको छ । सातवटा प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको सरकार छ । केन्द्रमा पनि उहाँहरु दुई तिहाईको नजिक हुनुहुन्छ । हाम्रो पनि समर्थन भएको हुनाले राष्ट्रभित्र रहेका संविधानसंग सम्बन्धित समस्याहरुलाई निराकरण गर्नेगरी संविधान संशोधनको एजेण्डालाई उहाँले अगाडी बढाउनुपर्छ । जुन उहाँकै पनि एजेण्डा हो । हामी पर्ख र हेरको सिद्धान्तमा थियौँ । तर यो धेरै दिन जाला जस्तो लाग्दैन । हाम्रा निर्वाचित सांसद जेलमा छन् । उहाँको सपथ हुनसकेको छैन । हामीलाई सडकमा धकल्ने कि आफूसंगै लिएर राष्ट्रीय एकता कायम गर्नुहुन्छ । त्यो प्रधानमन्त्रीमा नै भर पर्छ ।

सरकारमा जानका लागि राजपालाई के कुराले रोकेको हो ?

खासगरी राजपा विगतको जस्तो छैन । २०७० सालदेखि हामी एक पटक पनि सरकारमा गएका छैनौँ । सरकारमा जानुपर्ने हाम्रो आवश्यकता पनि छैन र मोह पनि छैन । लोकतन्त्रमा सरकार बन्ने र अन्त्य हुने यो नियमित प्रक्रिया हो । त्यसैले राष्ट्रिय जनता पार्टीलाई झण्डा बोकेको गाडीमा सयर गर्नुपर्ने आवश्यकता छैन । हाम्रो अहिलेको आवश्यकता के हो भने नेपाली भएर नेपालभित्र बाँच्न पाउनुपर्छ भनेर जुन संघर्ष गरेका छौँ । यस्तै संवैधानिक हिसाबले हामीमा विभेद नगरियोस् भन्ने जुन छ । मधेशको भूमि मधेशी जनताको आधिपत्यमा हुनुपर्यो भन्ने भनाई छ । यी कुराहरु सम्बोधन गर्नेगरी प्रधानमन्त्री अगाडी बढ्नुपर्छ । हामीलाई मन्त्री बनाइराख्नु पर्दैन । फेरि लोकतन्त्रमा प्रमुख प्रतिपक्षीको पनि खाँचो हुन्छ । द्वन्द्व सिर्जना गर्ने हाम्रो उद्देश्य होइन । सरकारलाई आवश्यक परेको खण्डमा हामी सहयोग गर्न तयार छौँ ।

भनेपछि समर्थन फिर्ता लिने अवस्था पनि आउन सक्छ ?

अब हाम्रो एजेण्डामा उहाँहरु प्रतिवद्ध रहनु भएन भने लोकतन्त्रमा बाजा बजाएर समर्थन फिर्ता लिनु पर्दैन । उखान टुक्काले नै मुलुक चल्दैन । यदि हाम्रो माग पूरा गर्न उहाँहरु प्रतिवद्ध हुनुभएन भने हामी समर्थन फिर्ता लिन्छौँ । वास्तवमा हामी पर्ख र हेरको सिद्धान्तमा छौँ । यी कुराहरुलाई छिट्टै अगाडी बढाउँछौँ । अहिले मुलुकले खोजेको समृद्धि र विकास जो राष्ट्रिय एजेण्डा हो । यसमा प्रधानमन्त्री कत्तिको प्रतिबद्ध हुनुहुन्छ त्यसले निर्धारण गर्छ ।

भर्खरै भारतीय प्रधानमन्त्रीको भ्रमण भएको छ । यस्तै प्रधानमन्त्री ओलीपनि एक महिना अघि भारत भ्रमणमा जानुभयो । चाँडै चीन भ्रमणमा पनि जाने हल्ला छ । यी सबै कुरालाई कसरी हेरिरहेको छ राजपाले ?

भूमण्डलीकरणमा आवत जावत गर्नु राम्रो नै हो । कुनैपनि मुलुक एक्लै अगाडी बढ्न सक्दैन । सबैसंग सम्बन्ध राख्नु पर्छ । तर प्रधानमन्त्री ओलीले यसअघि जुन किसिमको भाषाशैली प्रयोग गरेर राष्ट्रियताको अफिम नेपाली जनतालाई खुवाउने प्रयत्न गर्नुभयो । त्यो सबै देख्दा हामी अचम्मित भएका छौँ । त्यस कारण बोल्नु भन्दा अगाडी राष्ट्रिय नेताहरुले सोच विचार गर्नुपर्छ । छिमेकीको सरकार प्रमुख आउनु राम्रै कुरा हो । उहाँहरु आउनु पनि पर्छ । हामी जानु पनि पर्छ ।

पछिल्लो समय विकास र समृद्धि शब्द एकदमै प्रयोग हुँदै आएको छ । अहिलेको सरकारले पनि त्यस्तै ठूला सपना बाँडेको छ । तपाईको पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

आश्वासन दिने मान्छे सत्ता सञ्चालनमा हुनुहुन्छ । हामी त आशा राख्छौँ कि उहाँहरुले भनेका कुरा सबै पूरा होस् । यसमा उहाँलाई सघाउन हामीपनि तयार छौँ । तर हामीले स्रोत साधनको समितता भित्र काम गर्नुछ । त्यसैले यो विषयमा हामी गम्भीर हुनुपर्छ । उहाँहरु पाँच वर्षका लागि आउनु भएको छ । अहिले कार्य मूल्याङ्कनको बेला भइसकेको । तर पनि अब कुरा होइन काम देखाउने बेला आएको छ ।