काठमाडौं : सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले मुलुकको समृद्धिका लागि राज्यले शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन्।
१०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा बालिका वातावरण केन्द्र नेपालले आयोजना गरेको आयोजना गरेको “किशोरी र बालिका सशक्तीकरणका निम्ति हाम्रो दायित्व” विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद लामाले भनिन्, ‘राज्यले शिक्षामा लगानी बढाउनुपर्छ, होइन भने गुणस्तरीय शिक्षा प्रदान गर्न सकिँदैन।’ विगतमा नेतृत्वले धेरै त्याग, बलिदान, लगानी गरेका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको भन्दै अहिले पनि सरकारले थालेको समृद्धिको अभियानलाई सहयोग गर्नुपर्ने लामाले बताइन्।
‘यो मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउनका निम्ति नेतृत्वले धेरै त्याग, तपस्या र बलिदानी गरेको छ’, उनले भनिन्, ‘उहाँहरूलाई हामीले सहयोग गरौँ। लोककल्याणकारी राज्यमा कानुन र जनता नै सर्वेसर्वा हुन्छन्।’ बालबालिकाहरू सशस्त्र संघर्ष, युद्ध वा प्रकोप जहिले पनि पीडित हुने बताउँदै नेता लामाले बालबालिकाका लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण भएको हुनाले यसमा राज्यको विशेष ध्यान पुग्नुपर्ने बताइन्।
‘स्कुललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ भनेर मावि तहसम्म बालबालिकालाई राजनीतिमा लगाउनहुँदैन भनेर हामी सहमत छौँ। तर यसलाई अब नीतिमै राखेर जानुपर्छ’, उनले भनिन्। उत्पादनशील जनशक्ति अहिले विदेशसन बाध्य भएको भन्दै उनले यसलाई रोक्नका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताइन्। कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी गौरी प्रधानले १ कक्षामा भर्ना हुने सय विद्यार्थीमध्ये अहिले पनि ५० प्रतिशत विद्यार्थी १२ कक्षामा पुग्न नसक्ने अवस्था रहेको बताए।
‘हाम्रो देशको नीति, कानुनअनुसार प्रत्येक १ कक्षामा भर्ना हुने बालबालिकामध्ये १२ कक्षा पुग्दा पनि १०० प्रतिशत पुग्नैपर्छ तर अहिले ५० प्रतिशत बीचैमा हराउँछन्, जसमा बालिका धेरै छन्’, प्रधानले भने, ‘अध्ययनले बालविवाहका कारण हराउने गरेका छन्। कतिपय घरायसी जिम्मेवारीका कारण पनि स्कुल छाड्नेमा बालिका पर्ने गरेका छन्।’ मानवअधिकारकर्मी प्रधानले मुलुकको समृद्धिका लागि किशोरीहरूको क्षमता वृद्धि गर्नुपर्ने बताउँछन्। उनले भने, ‘राज्यले किशोरीहरूमा रहेको क्षमताको पहिचान गरेर प्राथमिकता दिनुपर्छ।’ शक्ति समूहकी सुनिता दनुवारले कैयन् बालिका यौन शोषण, यौन दुर्ववहार, बेचबिखनमा परेको भन्दै यसलाई रोक्न राज्यले कानुनलाई बलियो बनाउनुपर्ने बताए।