रामचन्द्र पाण्डे, काठमाडौँ– नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ को टिममा पर्न सफल भएका छन् । आगामी मे ३१ मा इंङल्यान्डको लर्डस मैदानमा वेष्ट इन्डिजविरुद्ध हुने टिट्वान्टी खेलका लागि विश्वका ११ खेलाडीमा सन्दीप परेका हुन् ।


ADVERTISEMENT


बंगलादेशका टेष्ट कप्तान साकिव अल हसन व्यक्तिगत कारणले बाहिरिएपछि सन्दीपको बाटो खुलेको हो । गतवर्षको आँधीका कारण क्षती पुगेको क्यारेबियन क्षेत्रको क्रिकेट स्टेडियमको पुर्ननिर्माणका लागि उक्त खेल आयोजना गरिएको हो । खेलबाट उठेको सम्पूर्ण आय क्षतीग्रस्त क्रिकेट स्टेडियमको पुर्ननिर्माणका लागि खर्च गरिनेछ ।


ADVERTISEMENT

# # #


आईसीसी विश्व टीट्वान्टी च्याम्पियन टिम वेष्ट इन्डिजविरुद्ध खेल्ने विश्वका उत्कृष्ट ११ खेलाडी मध्ये १७ वर्षीय सन्दीप यो टोलीका सबैभन्दा कान्छा सदस्य हुन् । इइन मोर्गनले कप्तानी गर्ने उक्त टिममा शाहिद अफ्रिकी, तमिल इकबाल, दिनेश कार्तिक, राशिद खान, मिचेल म्याकलेनगान, सोयद मालिक, हार्दिक पाण्ड्या , थिशारा पेररा र लूका रोन्चीजस्ता विश्वका नाम कहलिएका खेलाडीसंग सन्दीपले खेल्न पाउने भएका छन् ।

यस्तै वेष्ट इन्डिजबाट शमूएल बद्री, कार्लोस ब्रैथ्वाइट, क्रिस ग्येल, ईभिन लुईस, मार्लोन सामुुल्स र आन्ड्रे रुजेल लगायतका खेलाडी खेल्नेछन् ।

यो सन्दीपका लागि ठूलो अवसर हो । छोटो समयमा नै विश्वमा उदाएका यी नेपाली युवा स्टारले गत फेब्रुअरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ मा ६ खेलमा नै १७ विकेट लिएर ‘म्यान आफ दि सिरिज’ भएका थिए ।  त्यस्तै उनले मार्चमा जिम्बावेको विश्वकप छनोटमा १३ विकेट लिएर नेपाललाई एक दिवशीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ।

निरन्तर सफलताको सिँडीमा उक्लिरहेका सन्दीपले आइपीएल खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा पनि आफ्नो नाम दर्ज गरिसकेका छन् ।

गत शनिबार उनले आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध डेब्यू गरेका थिए । आइपीएलमा आफ्नो पहिले खेलमा नै विकेट लिँदै दिल्लीका लागि उनले सबैभन्दा किफायती बलिङ गरेका थिए ।

विश्व ११ को सूचिमा आफू परेको थाहा पाएपछि सन्दीपले आईसीसीसँग भने, ‘म वेस्ट इन्डिज विरुद्धको विश्व ११ को सूचिमा परेकोमा एकदमै खुसी छु । यो सम्पूर्ण नेपाल र क्रिकेट सर्मथकका लागि एक सम्मान हो । योे अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो खेल देखाउने बाटो बन्नेछ ।’

‘टिभीमा देखेका स्टारसंग प्रत्यक्षरुपमा ट्रेनिङ, ड्रसिङ रुम सेयर गर्नु र खेल्न पाउनु निकै खुसीको कुरा हो । यो मेरोलागि खेल सुधार गर्ने अवसर पनि हो । क्रिकेटको मन्दिर भनेर चिनिने लर्डस् ग्राउन्डमा गएर खेल्ने प्रत्येक क्रिकेट खेलाडीको सपना हुन्छ ।’ सन्दीपले भने, ‘सन् २०१६ ताका नेपालको एक सदस्य भएर खेलेको यादगार क्षण छ । जुन यसपटक फेरि दोहोरिँदैछ । यसले मेरो खेल कौशललाई अझ निखार्नेछ साथै विश्व क्रिकेटको नक्सामा नेपालाई आफ्नो स्थान बलियो बनाउन मदत पुर्याउनेछ ।’

उनले सन् २०१६ जुलाईमा लर्डसमै एमसीसीविरुद्ध खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । त्यो खेलमा नेपाल विजयी भएको थियो ।

यस्तै आउँदो २९ जुलाईमा नेपाली राष्ट्रिय टिमले पनि लर्डसमा टी–२० सिरिज खेल्दै छ । मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाल र नेदरल्याण्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने यसअघि नै पक्का भएको हो ।