काठमाडौँ– भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । मंगलबारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।


ADVERTISEMENT

# # #


निजी आवास पुनर्निर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६८३ घरको पुनःनिर्माण भइरहेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर निर्माण भइरहेको छ । दोलखामा अहिलेसम्म २८ हजार ८०७ घरको पुनःर्निर्माण सम्पन्न भएको छ । दोलखामा ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घरको पुनर्निर्माण भइरहेको छ । सिन्धुपाल्चोकमा २० हजार ९७१ घर निर्माण सम्पन्न भइसकेको छ । कुल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने प्राधिकरणको कार्यविधि छ ।