काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंगो लागेको छ । बिहीबार बिहान एकता संयोजन समितिको बैठकले बाँकी रहेका सामान्य विषय मिलाएर दिउँसो एकता घोषणा गर्ने दुवै दलले तयारी गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको वार्तामा विवादित विषय टुंगो लागेको थियो । त्यसपछि दुवै दलले बैठक बोलाएर दुई नेताबीचको सहमति अनुमोदन गरेका छन् ।


ADVERTISEMENT

# # #


एमाले स्थायी कमिटी र माओवादी हेडक्वाटर बैठकले दुई नेताबीच भएको सहमति अनुमोदन गरेको थियो । सहमतिअनुसार अब पार्टीको नेतृत्व दुवै नेताले पालैपालो गर्नेछन् । नयाँ बन्ने पार्टीमा नेकपा एमालेका २४१ र २०० माओवादीका नेता रहेको केन्द्रीय कमिटी बन्नेछ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य हुनेछ । २४१ एमाले र २ सय माओवादीका केन्द्रीय कमिटीमा रहनेछन् ।

स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए । “पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “ कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”

यसअघि एमालेका नेता वामदेव गौतमले बिहीबार नै पार्टी एकता हुने बताए । स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बिहीबार नै पार्टी एकता हुने बताएका हुन् ।

“भोलि नै पार्टी एकता हुन्छ,” गौतमले भने, “एकता संयोजन समितिको बैठकले सबै कामको टुंगो लगाउँछ । बेलुकासम्म पार्टी एकताको घोषणा हुन्छ ।”

माओवादी केन्द्रको बैठकपछि प्रवक्ता पम्फा भुसालले पनि बिहीबार दिउँसो पार्टी एकताको घोषणा गरिने जानकारी दिइन् । उनले अहिलेसम्म देखिएका सबै विवादित विषयहरु हल भएको बताइन् ।