चितवन– चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी उक्त सेवा सुरु गरेको कलेजका सञ्चालक डा दयाराम लम्सालले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा विपन्न भएको प्रमाणित भएपछि मात्रै यो सुविधा प्राप्त गर्न सकिनेछ । मुख्यगरी मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेडइन्जुरी, स्पाइनल इन्जुरी भएका बिरामीले सेवा पाउने छन् ।


ADVERTISEMENT

# # #


यसका लागि अस्पतालको विपन्न नागरिक उपचार सम्पर्क केन्द्रमा पुगेर सेवा लिन सकिने कलेजले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट घोषित कार्यक्रममा निःशुल्क आमा सुरक्षा कार्यक्रम, डाइलासिस सेवा, पाठेघरको शल्यक्रिया तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएकामा कलेजले यही महिनाबाट थप नयाँ सेवा थालेको हो ।

यही वैशाखबाट नयाँ कार्यक्रमका रुपमा विपन्न नागरिकको उपचार केन्द्र स्थापना गरी कडा रोगमा रु एक लाखसम्मको छुट सुविधासहितको सेवा सुरु गरेको डा लम्सालले जानकारी दिए ।

विसं २०६५ मा स्थापना भएको चितवन मेडिकल कलेजमा हाल ७५० शय्या छ । अहिले विभिन्न जिल्लाको रिफर सेन्टरको रुपमा कलेजले सेवा दिँदै आएको छ ।