प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रमुख भातृ संगठन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


नेपाली कांग्रेसको प्रमुख भातृ संगठन तरुण दलको पछिल्लो गतिविधि कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


हामी अहिले संगठन विस्तारमा छौँ । हामीले आजभन्दा दुई महिना अगाडि जिल्ला अध्यक्षहरुको सम्मेलन नगरकोटमा गरेका थियौँ । त्यसपछि ६ वटा प्रदेशको प्रशिक्षण कार्यक्रम पनि गरिसकेका छौँ । अब हामी कर्णालीमा पनि लाँदैछौँ । सुगम ठाउँमा मात्रै जाने प्रवृत्तिको अन्त्य हुँदैछ । जुम्ला र कालीकोटमा हाम्रो आमसभा नै छ । अहिले हाम्रो ध्यान संगठनलाई बलियो बनाउने तर्फ रहेको छ । हाम्रो एउटा मात्र एजेण्डा भनेको पार्टीभित्र नेताहरुका बीचमा एकता हुनुपर्यो । जनताका भावना पार्टीले बुझेर त्यसलाई कदर गरेर अगाडि बढ्नुपर्यो भन्ने हाम्रो मान्यता हो । संगठन निर्माणकै अभावमा हामीले अहिलेको चुनावमा घाटा बेहोर्नुपर्यो ।

अर्को कुरा हामीले चुनावअघि केही कमीकमजोरी गयौँ । त्यसकारण पनि केही घाटा भएको हो । तर आफू हार्ने थाहा हुँदाहुँदैपनि सबै पार्टीलाई निर्वाचनमा सहभागी गराउनु नै ठूलो कुरा हो । हामीले यो यो काम गरेका छौँ र अब यो गर्छौँ भनेर जनतालाई बुझाउन सकेनौँ ।अ त्यस्तै पार्टीका भातृ संगठनले आफ्ना उम्मेदवारलाई सहयोग गर्न कन्जुस्याईँ गर्यौँ । त्यसले निर्वाचनको परिणाममा केही तलमाथि गरायो । अब यो कुरालाई बिर्सेर कमीकमजोरी सच्याउँदै आउने निर्वाचनका लागि संगठन निर्माणतर्फ लाग्नुको विकल्प छैन । यही कुरा मनन गर्दै हामी संगठन निर्माणको अभियानमा छौँ ।

यति ठूलो पार्टीको युवा संगठन तर यसको विगत हेर्दा त्यती सक्रिय देखिँदैन यसको खास कारण के थियो ? अब यो भन्दा माथि कसरी उक्लिँदैछ ?

म तरुणदल नभई नेविसंघमा काम गरिसकेपछि यहाँ आएको हो । नेविसंघको महासचिव भइसकेपछि अध्यक्ष बन्छु भन्दा अब तिमीले तरुणदल चलाउनुपर्छ भन्ने कुरा भयो । म जुन दिन तरुणदलमा आएँ  । त्यसपछि मैँले के संकल्प गरेको थिएँ भने तरुण दललाई अब ठूलो संगठनका रुपमा लिन्छु । युवा संगठनभित्र रहेका विकृतिहरुलाई चिर्नुपर्छ । देशको साँच्चिकै मुहार फेर्ने हो भने भष्टाचारको अन्त्य हुनुपर्छ । त्यसका लागि सबैभन्दा पहिले आफू शुद्ध हुन आवश्यक छ । मैँले जनतालाई तरुणदलमाथि विश्वास गर्ने संस्था वा संगठन बनाउन चाहेको हो । हिजोको दिनमा के भयो भन्ने कुरा मैँले फर्केर हेरेको छैन । हिजोको दिनमा राम्रो पनि भएका होलान् र नराम्रो पनि ।

तरुण दल भनेको नेपाली कांग्रेसको एउटा मेरुदण्ड हो । अब यसलाई बलियो बनाउने जिम्मेवारी मेरो छ । मैँले कतीसम्म गर्न सक्छु त्यो भोलिका दिनमा थाहा भइहाल्छ । हामी सबै स्थानीय तह र जिल्लाहरुमा प्रशिक्षण कार्यक्रम गर्दैछौँ । त्यस्तै वडा इकाईहरुमा पनि हामीले कार्यक्रम तय गरेका छौँ । यसले संगठनलाई अझ बलियो बनाउने काम गर्छ । हिजोको कुरालाई छाडेर अब नयाँ कुराहरुका साथमा जाऔँ भन्ने हाम्रो धारणा हो ।

तरुण दलले पूरा आकार कहिले पाउँछ ? यस्तै तपाईले नेतृत्व गरिरहँदाखेरी अबका योजना के हुन्छन् ?

अध्यक्ष भइसकेपछि कमिटी नआउनु मेरो जिम्मेवारी हो । यो चाडोभन्दा चाँडो आउँछ । चुनावका कारण निरास भएका युवाहरुलाई हामी उर्जा दिन चाहान्छौँ ।  राजनीतिमा हारजित हुन्छ । हिजो चुनाव हारियो । त्यसमा सबैको कमजोरी होला । अब सुन्दर बाटो पहिल्याउनका लागि सबै एक भएर जानुपर्छ ।  अहिले जनतामा फैलिएको भ्रमलाई चिर्नुपर्छ । नेपाली कांग्रेसले धेरै राम्रा काम गरेको छ । यो देशको विकास नै नेपाली कांग्रेसले गरेको हो ।

तर हामीले जनतालाई भन्न सकिरहेका छैनौँ । गल्ती कहाँ भयो भने भातृ संगठनमा भयो । तरुणदल, नेविसंघमा वा अन्यमा भयो । हामीले जनतामा लग्नुपर्ने एजेण्डा लगेनौँ । त्यही नेपाली कांग्रेसले बनाएको सडकमा बसेर, त्यही सदरमुकामबाट गाली गर्यौँ । हाम्रो नेताहरु फटाहा हुन् भनेर गाली गयौँ । त्यसले जनतालाई भ्रम पन गयो । पार्टी वा संगठनभित्रका असन्तुष्टिहरुलाई पार्टी भित्र नै राख्नु पर्छ । बाहिर जे मन लाग्यो त्यही बोल्नु त्यो बेइज्जत गर्नुमात्रै हो ।  पार्टी  कमजोर बनाएर आफू हिरो बन्न सकिन्न । यस्ता कमीकमजोरीलाई अब हामीले सुधार गर्नुपर्छ । हामीले पार्टीबाट लियौँ मात्रै, अब दिने बेला आएको छ ।

नेपाली कांग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षी भएको त्यसको एउटा बलियो संगठन तरुण दलको तपाई अध्यक्ष हुनुहुन्छ अहिले सरकारको गतिविधिलाई कसरी नियाली रहनु भएको छ ?

केपी ओलीलाई प्रधानमन्त्री बन्नका लागि जनताले मत दिएका हुन् । उहाँ हाम्रो पनि प्रधानमन्त्री हो । संविधान अनुसार प्रधानमन्त्रीको उम्मेदवार हुन त संसदीय दलको नेता बन्नु पर्छ । तर उहाँले पार्टी अध्यक्षको रुपमा प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो । संविधान मिचेर उहाँले आफ्नो एकतापछिको संकेत देखाइसक्नु भएको छ । माओवादी र एमालेको  पार्टी एकतापछि कुन दिशामा जाने भन्ने कुरा उहाँले पहिलो चरणमा देखाइसक्नु भएको छ । दोस्रो कुरा मन्त्रीपरिषद्का कतिपय निर्णय बाहिर आएका छैनन् । तर जनतालाई २४ घण्टाभित्र सुसूचित हुने अधिकार त छ नि ? अघिल्लो सरकारका निर्णय उहाँहरुले के के खारेज गर्नुभयो थाहा छैन । अर्को भनेको राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, गुप्तचर निकाय उहाँले आफ्नो अधिनमा ल्याउनु भएको छ ।

एउटा लोकतान्त्रिक प्रधानमन्त्री भएको भए यस्ता निकायलाई त स्वतन्त्र बनाउनु हुन्थ्यो होला नि ? यसको संकेत गर्न खोजेको कुरा तपाईले बुझ्नु नै भयो होला । राजाको पालादेखि नै स्वतन्त्र रहँदै आएको न्यायपालिकाले पनि स्वतन्त्र रुपमा काम गर्न सकेन । संसदीय सुनुवाई भएर आएको व्यक्तिलाई एउटा सचिवले चिठी लेखेर उमेरको हदबन्दीभन्दै निकालिन्छ । जुन असंवैधानिक ‘कू’ हो । मैँले जोड्न खोजेको के हो भने नेपाली कांग्रेसले संवैधानिक तरिकाले महाअभियोगको प्रस्ताव ल्याउँदाखेरि स्वतन्त्र न्यायपालिकामाथि प्रहार भयो भनियो । तर अहिले एउटा सचिवले ‘कू’ गर्दा हामी बोल्न नपाउने ? यदि हटाउनु नै थियो भने महाभियोगको प्रस्तावबाट हटाउनु पथ्र्यौ नि ? आफुलाई मन परेन भन्दैमा संविधानलाई मिचेर एउटा सचिव लगाउने ? यी घटनाक्रम रोक्नका लागि तरुण दल बलियो हुनुपर्छ ।

भनेपछि सरकारका पछिल्ला गतिविधिप्रति तपाईहरुको असन्तुष्टि देखियो हैन ?

एकदमै । केपी ओलीमा यति अहम्ं बढेको छ कि मैँले जे गरेपनि हन्छ भन्ने जस्तो देखिएको छ । देश बनाउन जे गरेपनि हुन्छ । देश विकासका लागि जनताले मत दिएका हुन् । तर संविधान मिच्न पाइँदैन । संवैधानिक दायराभित्र रहेर काम गर्नु पर्यो नि ? नेपाली कांग्रेसले कसैसंग हात मिलायो भने लम्पसारवाद अनि केपी ओलीले त्यहीसंग हात मिलाएमा राष्ट्रवाद त हुँदैन नि ! अब सरकारलाई सही मार्गमा हिँडाउनका लागि हामीले पहिलो आफ्नो संगठन बलियो बनाउन जरुरी छ । केपी ओलीलाई ट्र्याकमा ल्याउनका लागि कांग्रेस नै चाहिँदैन, तरुण दलले नै सक्छ । यो सरकारलाई चेतावनी पनि हो कि नसुध्रिने हो भने, संविधानका धाराहरुलाई मिच्ने हो भने हामी सडकमा उत्रिन बेर लगाउँदैनौँ । त्यत्रो राणा शासन फल्यौँ, राजतन्त्र फाल्यौँ भने यो त …।

कांग्रेसको बलियो हतियार तरुण दलको तपाई अध्यक्ष हुनुहुन्छ । अबको पाँच वर्षपछि नेपाली कांग्रेसको अवस्था कतातिर हुन्छ ?

अब हिजोका कमी कमजोरीलाई सुधार गर्दै जानुको विकल्प छैन । पार्टीलाई माया गरेर यसको उत्थानतिर सबै लाग्नुपर्छ । तल्लो तहका नेता कार्यकर्तालाई पनि पार्टीप्रति आत्मियता जगाउनु पर्छ । त्यसको लागि नेताहरु एक हुनैपर्छ । हामी अहिले कमजोर प्रतिपक्षको रुपमा छौँ । जनताका राम्रा एजेण्डा उठाएर संसदमा राम्रो भूमिका खेल्नु पर्यो । यसले नै हामी पाँच वर्षमा कुन स्थानमा हुने भन्ने कुरा निक्योल गर्छ । फेरि पनि प्रजातन्त्र र कांग्रेसलाई अगाडि पुर्याएर मुलुकको विकास र समृद्धिमा प्रमुख भूमिका खेल्नुपर्ने बला आएको छ । त्यसका लागि हामीले अहिले देखि नै तयारी थाल्नु जरुरी छ । जुन हामी तरुणदलको तर्फबाट गरिरहेका छौँ र पार्टी केन्द्रिय स्तरबाट पनि त्यो हुन्छ ।

अन्त्यमा, तपाई आगामी दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?

मैँले नेपाली कांग्रेस र राजनीतिबाहेक अन्य सोचेको छैन । भाग्यमानी नै भन्नुपर्छ म काठमाडौँमा जन्मे र अहिलेसम्म बुवाआमाले एकदमै साथ दिनु भएको छ । उहाँहरुकै कारण म चलिरहेको छु । त्यसकारण राष्ट्र र पार्टीको लागि २४ सै घण्टा आफ्नो समय दिन तयार छु । मबाट राष्ट्र र पार्टीलाई कुनै हानी हुनेछैन ।