काठमाडौँ(रासस)–प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले सो निमन्त्रणा गरेका हुन् ।


ADVERTISEMENT


राजदूत ओगावाले आज साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका थिए । उहाँ आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंने कबार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् ।

आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनुभएकामा प्रधानमन्त्री ओलील बधाई ज्ञापनसमेत गरेका छन् ।

उनले नेपालको एक हितैषी एवं प्रमुख दाता राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समयदेखि विनाशर्त पुर्याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहिआएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावामार्फत शुभकामनासमेत व्यक्त गरेका थिए ।