डडेल्धुरा(रासस)–डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुकेर पानी कम हुन थालेपछि जिल्ला सदरमुकाममा पानी अभाव भएकोे हो ।


ADVERTISEMENT


सदरमुकामवासी जिल्ला नजिक रहेको खानेपानीको मूलमा धाउन बाध्य बनेका छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको बागबजारका स्थानीयबासी बताउँछन् ।


ADVERTISEMENT

# # #


पानीका लागि सदरमुकामबाट घण्टौँ टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याई प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएका सुरेश खड्काको भनाइ छ । बिहान विद्यालय जान हतार हुन्छ, छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनु पर्ने बाध्यता रहेको अर्का विद्यार्थी भागरथी ऐरले दुखेसो पोखे । विद्यालय सकिएपछि साँझ आधा घण्टाको बाटो हिँडेर ठूलधाराबाट पानी भरेर ल्याउनुपर्ने आफ्नो दिनचर्या बनेको ऐरको भनाइ छ ।

त्यस्तै, कार्यालय छोडेर पनि पानीका लागि धाउनुपर्ने बाध्यता रहेको र कहिलेकाहीँ त छोराछोरीलाई नुहाउनसमेत पानी नपाइँदा न्वौला वा कुवाको पानी प्रयोग गर्ने गरेको अमरगढी–५ का विमला ओझाले बताइन् । अहिले डडेल्धुराका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ । खानेपानीका लागि नजिकका मूल तथा खोलाको फोहरपानी उमालेर ग्राहकलाई दिइरहेको होटल सञ्चालकको भनाइ छ ।

अहिले सदरमुकामको जनसंख्यालाई कम्तीमा पनि छ लाख लिटर पानीको आश्यकता पर्छ । तर खलंगा खानेपानीको ट्यांकीमा अहिले जम्मा एक लाख क्षमता भएको ट्यांकी भएका कारण खानेपानीको अभाव भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष रवि केसीले जनाएका छन् ।

जिल्लामा रहेको खलंगा खानेपानीबाट पानी वितरण गर्दै आएको भए पनि मूलबाट नै पानी कम आउन थालेपछि जिल्लामा पानीको अभाव हुन थालेको खलंगा खानेपानीले जानकारी गराएको छ । एउटा मात्र मूल रहेको खलंगा खानेपानी आजभन्दा करीब तीन दशक पहिले निर्माण भएको स्थानीयको भनाइ छ ।

खानेपानीको अभावलाई मध्यनजर गरी १३ सय धाराका लागि नयाँ खानेपानी योजना निर्माणको थालनी भएको उपभोक्ता समितिका अध्यक्ष केसीले जानकारी गराए । सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्नका लागि साना शहरी खानेपानी योजना लागू भएको छ । रु ३० करोड ६२ लाख लागतमा नयाँ खानेपानीको योजना निर्माण भइरहेको छ । सो योजना सम्पन्न भएमा डडेल्धुरा सदरमुकामलगायत वरपरको क्षेत्रमा समेत पर्याप्त पानी पुग्ने उपभोक्ता समितिका सचिव देवकी भट्टले बताएकी छिन् ।

खानेपानीको योजना निर्माणकार्य चार महिनादेखि भइरहेको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्वेका आधारमा हाल खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा १३ सय धारा आवश्यक पर्ने तथ्यांकले जनाएको छ ।